२०८३ साउन ६ गते बुधवार

डम्पिङ साइट आसपासका स्थानीयलाई तुलसीपुर उपमहानगरद्वारा झुल वितरण


दाङ। तुलसीपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) आसपासमा बसोबास गर्ने स्थानीय नागरिकलाई निःशुल्क झुल वितरण गरेको छ ।

डम्पिङ साइटका कारण फैलिन सक्ने सरुवा रोग तथा लामखुट्टेको प्रकोपबाट स्थानीयलाई जोगाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१२ मा झुल वितरण गरिएको हो ।

नगरप्रमुख टीकाराम खड्का र वडा अध्यक्ष खुसीराम चौधरीको उपस्थितिमा सोमबार ३५० थान झुल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापन क्षेत्र वरपर लामखुट्टेको जोखिम बढी हुने भएकाले प्रति दुई सदस्य बराबर एक थानका दरले परिवार संख्याका आधारमा झुल उपलब्ध गराइएको हो ।

झुल वितरण गर्दै नगरप्रमुख खड्काले डम्पिङ साइट प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य सुरक्षाप्रति उपमहानगरपालिका सचेत रहेको बताउनुभयो । फोहोर व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने र स्थानीयको स्वास्थ्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न आगामी दिनमा पनि यस्ता प्रवद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

वडा अध्यक्ष खुसीराम चौधरीले वर्षातको समयमा डम्पिङ साइट आसपासमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, मलेरिया जस्ता रोगको जोखिम उच्च हुने भएकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तत्काल झुल वितरण गरिएको बताउनुभयो । झुल पाएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस