दाङ । दाङमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र घोराहीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाइँ सकिएर धान उम्रिन थालिसकेको छ भने दाङ उपत्यकाका धेरै किसान अझै वर्षाको भरमा रोपाइँ गरिरहेका छन् ।
केन्द्रका अनुसार देउखुरी क्षेत्रमा करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । तर घोराही, तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईलगायत पालिकममा रोपाइँको गति सुस्त छ । उपत्यका क्षेत्रमा हालसम्म करिब ५० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र, दाङका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि वर्षाको भरमा खेती हुने स्थानमा अझै रोपाइँ हुन बाँकी छ । दाङमा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये ३७ हजार २२५ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ८ हजार ९७ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । त्यसपछि तुलसीपुर उपमहानगरपालिकामा ६ हजार ७९५ हेक्टर, दंगीशरण गाउँपालिकामा ३ हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा ३ हजार २८० हेक्टर, लमही नगरपालिकामा ३ हजार २५० हेक्टर धान खेती हुने गरेको छ ।
राप्ती गाउँपालिकामा ३ हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा ३ हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा २ हजार ७५० हेक्टर, बबई गाउँपालिकामा २ हजार १५० हेक्टर तथा बंगलाचुली गाउँपालिकामा १ हजार १४३ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । यस वर्ष पनि धान खेतीमा आयातित हाइब्रिड बिउको प्रयोग बढी देखिएको छ ।
यद्यपि, पछिल्ला केही वर्षयता किसान क्रमशः उन्नत तथा स्थानीय जातका धानतर्फ आकर्षित हुन थालेका छन् । वरिष्ठ कृषि प्रसार अधिकृत भण्डारीका अनुसार जिल्लामा करिब ७० प्रतिशत हाइब्रिड, २० प्रतिशत उन्नत र १० प्रतिशत स्थानीय जातका धानको बिउ प्रयोग भइरहेको छ । स्थानीय रैथाने जातमध्ये तिल्की र सिम्ठारो धान अझै पनि केही किसानले खेती गरिरहेका छन् ।



















