दाङ । दाङका अधिकांश क्षेत्रमा बर्खे धानको रोपाइँ चलिरहेका बेला बंगलाचुलीका किसान भने चैते धान भित्र्याउन व्यस्त छन् । किसानले चैते धान भित्र्याएलगत्तै सोही खेतमा बर्खे धान रोप्ने तयारी गरेका छन् ।
खैरेनीका किसान चुमानसिंह गाहाले अर्जुन खोलाको सिँचाइ सुविधा भएको १० रोपनी जग्गामा हरेक वर्ष चैते धान खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार चैते धान भित्र्याएपछि सोही खेतमा बर्खे धान रोपेर वर्षमा दुई बाली उत्पादन गर्ने गरिएको छ ।
यसबाट परिवारको खर्च धान्न सहज भएको उहाँले बताउनुभयो । १० रोपनी जग्गाबाट वार्षिक २५ देखि ३० मुरी सम्म धान उत्पादन हुने गरेको उहाँको भनाइ छ । यस्तै, स्थानीय किसान पुरण मगर पनि अहिले चैते धान काटेर घर भित्र्याउन व्यस्त हुनुहुन्छ । वर्षायाममा लगातार पानी पर्ने सम्भावना भएकाले मौसम हेरेर धान काट्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
बंगलाचुली गाउँपालिका–४ र ८ अन्तर्गत गहतेरा, खैरेनी र स्वामीघाटका अधिकांश किसान अहिले चैते धान भित्र्याइरहेका छन् । वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डाँगीका अनुसार असार अन्त्यसम्म चैते धान भित्र्याएर त्यसपछि बर्खे धान रोप्ने चलन रहेको छ ।
पहाडी क्षेत्रमा जमिन सीमित भएकाले सिँचाइ सुविधा भएका स्थानमा वर्षमा दुई बाली लगाउँदा उत्पादन र आम्दानी दुवै बढ्ने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा १९० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ ।
यसबाट वार्षिक ८२१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । बङ्गलाचुलीको खैरेनी, गहतेरा, तुलसीपुर उपमहानगरपालिकाको वनकट्टी तथा राजपुर गाउँपालिकाको गुरुङखोलालगायत सिँचाइ सुविधा भएका क्षेत्रमा चैते धान खेती हुँदै आएको बताउनुभयो ।



















