दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १ सय जना किसानलाई मिनी टिलर वितरण गरेको छ । पालिकाको कृषि शाखामार्फत सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक खेती गर्दै आएका किसानलाई करिब ५३ हजार मूल्य बराबरको मिनी टिलर ५० प्रतिशत अनुदानमा २६ हजार पाँच सयमा उपलब्ध गराएको हो ।
कृषि क्षेत्रमा यान्त्रीकरण विस्तार गरी उत्पादन लागत घटाउने, समयको बचत गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । कृषि समिति सदस्य रेखा शर्माको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा मिनी टिलर वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले कृषिमा आधुनिक प्रविधिको प्रयोग आजको आवश्यकता भएको बताउँदै परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले किसानलाई उपलब्ध गराइएका मिनी टिलरको अधिकतम सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

विगतमा किसानले हलो र गोरुको भरमा खेती गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले उपमहानगरपालिकाले कृषिलाई सहज बनाउन आधुनिक कृषि उपकरण उपलब्ध गराउन थालेको हो ।
खड्काले अब पाँच–दश कठ्ठा मात्र होइन, बिघौँ बिघा जमिन पनि सहजै जोत्न सकिने र गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएकाले, खेत जोत्ने जनशक्तिको समेत अभाव भैरहेको अवस्थामा यान्त्रिकरणको उपयोगिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कृषिलाई पालिकाको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै चालू आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले कृषि उत्पादन बढाउन कृषिमा लागत घटाएर उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि र कृषि उपकरणको प्रयोग आवश्यक रहेको बताउनुभयो ।
उपमहानगरपालिकाले कृषकको आवश्यकता, चाहना र समस्यालाई सम्बोधन गर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै कृषिलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । कृषि शाखा प्रमुख कुलराज चौधरीले कृषि यान्त्रीकरणलाई विस्तार गर्ने उद्देश्यले यस वर्ष १ सयवटा मिनी टिलर वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा तुलसीपुर ४ का किसान मिस्रीलाल पुनले नेपाल कृषि प्रधान देश भए पनि अझै धेरै किसान परम्परागत कृषि प्रणालीमै निर्भर रहेको बताउँदै यस्ता कार्यक्रमले कृषि पेशालाई आधुनिक र व्यावसायिक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै तुलसीपुर ८ का कृषक टीका आचार्यले विगतका वर्षमा कृषि उपकरणका लागि आवेदन दिए पनि उपलब्ध हुन नसकेको स्मरण गर्दै यस वर्ष मिनी टिलर प्राप्त गरेपछि खेती विस्तार गर्न सहज हुने बताउनुभयो । उहाँले अनुदान कार्यक्रमले किसानलाई थप उत्साहित बनाएको उल्लेख गर्नुभयो ।
त्यसैगरी तुलसीपुर–१८ स्थित बुद्धिमान कृषि बहुउद्देश्यीय तथा पशुपन्छी फर्मका सञ्चालक चलमान बुढामगरले दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएको जानकारी दिँदै मिनी टिलरले समय र श्रम दुवैको बचत हुने तथा उत्पादन बढाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण कृर्षि शाखा अधिकृत शंकर न्यौपानेले गर्नुभएको हो ।



























