दाङ । रोल्पाको माडीचौरदेखि घर्तीगाउँ, जिनाबाङ हुँदै सल्यानको बागचौरसम्मको सडकखण्डमा हरेक बर्खायाममा पहिरोले सास्ती दिने गरेको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत माडीचौर–घर्तीगाउँ र घर्तीगाउँ–जिनाबाङ खण्डमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
माडी गाउँपालिका–२ का स्थानीय कमल घर्तीका अनुसार घर्तीगाउँ नजिकको क्षेत्रमा गत वर्ष पनि पहिरोको जोखिम थियो र यस वर्ष पनि अवस्था उस्तै छ । त्यस्तै, गंगादेव गाउँपालिका–२ का स्थानीय टेकम वलीले घर्तीगाउँ–जिनाबाङ खण्डको बीचभागमा पनि पहिरोको जोखिम रहेकाले पटक–पटक सडक अवरुद्ध हुने गरेको बताउनुभयो ।
रोल्पा नगरपालिका–७ को माडीचौरदेखि घर्तीगाउँ–जिनाबाङसम्मको सडक निर्माण कार्य दुई वर्षअघि सुरु भएको हो । मदन भण्डारी लोकमार्गअन्तर्गत रोल्पा–सल्यान खण्डको ५२ किलोमिटर सडक अहिले बर्खाका कारण प्रभावित बनेको छ । करिब चार अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो सडक आगामी एक वर्षभित्र कालोपत्र गर्ने योजना छ ।
सडक निर्माणको जिम्मा कञ्चनपुरको कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले लिएको छ । कम्पनीका इन्जिनियर किशोरराज पाण्डेका अनुसार २०८१ भदौमा सुरु भएको आयोजना २०८४ भदौभित्र सम्पन्न गर्ने लक्ष्य छ । उहाले बर्खाका कारण अहिले सीमित मात्रामा काम भइरहेको बताउनुभयो । उहाका अनुसार ५२ किलोमिटरमध्ये करिब ४४ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको छ ।
घर्तीगाउँ–जिनाबाङ खण्डको सुखाओडार क्षेत्रमा कडा चट्टान भएकाले नयाँ ट्र्याक खोल्ने काम भइरहेको र त्यसका लागि पाँच वटा जेसिबी परिचालन गरिएको बताउनुभयो । उक्त आठ किलोमिटर खण्डको काम भदौ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उहाको भनाइ छ ।
हाल कम्पनीले सडक फराकिलो बनाउने, नाला, पर्खाल निर्माण तथा ग्राभेल गर्ने काम गरिरहेको छ । सडकको चौडाइ १० मिटर रहने र सात मिटर कालोपत्र गरिने सम्झौता भए पनि केही स्थानमा माथिबाट पहिरो खस्ने र तलबाट जमिन भासिने समस्याका कारण सडक साँघुरो देखिएको छ ।
यो सडकले रोल्पा नगरपालिका तथा माडी र गंगादेव गाउँपालिकाका बस्तीलाई सडक सञ्जालसँग जोड्ने छ । सुर्खेतस्थित मदन भण्डारी लोकमार्ग आयोजना कार्यालयका योजना प्रमुख इन्जिनियर शंकर पौडेलका अनुसार बर्खाका कारण कामको गति सुस्त भए पनि हालसम्म समग्र आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।



















