२०८३ साउन २४ गते आइतवार

रेडक्रस शिक्षक नायकलाई डेङ्गुसम्बन्धी अभिमुखीकरण

घोराही । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी घोराही शाखाको सहआयोजनामा घोराहीमा गठित रेडक्रस सर्कलका शिक्षक नायकहरूलाई डेङ्गु रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।जनस्वास्थ्य प्रवर्द्धन शाखा घोराहीको प्राविधिक सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले डेङ्गु रोग, यसका लक्षण, रोगबाट बच्ने उपाय, डेङ्गुको विश्वव्यापी प्रभाव तथा नेपाल सरकारका आगामी रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा पौडेलले डेङ्गु नियन्त्रणका लागि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग फैलाउने लामखुट्टेको नियन्त्रण र सम्भावित जोखिमका स्थानमा सरसफाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले घर, विद्यालय तथा समुदायमा लामखुट्टेको बासस्थान नष्ट गर्न सके डेङ्गुको जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो।


उहाँले विद्यालयका शिक्षक नायक तथा स्वयंसेवकहरूले विद्यार्थी र समुदायमा डेङ्गु रोगसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रममा घोराही क्षेत्रका रेडक्रस सर्कलमा आबद्ध शिक्षक नायक तथा स्वयंसेवक गरी ३७ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले डेङ्गु रोगको जोखिम, रोकथामका उपाय तथा समुदायस्तरमा सचेतना फैलाउने विषयमा जानकारी प्राप्त गरेका थिए।

जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा दाङ रेडक्रसका मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि श्रीवन्दले रेडक्रसले विपद् तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको बताउँदै डेङ्गु नियन्त्रणका लागि विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा शिवा थापा, गिरि भट्टराई, मिनराज गौतमलगायतले डेङ्गु नियन्त्रणका लागि सरकारी निकायको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए। थम्मन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस