२०८३ साउन २७ गते बुधवार

भेरी नदीमा बेपत्ता हुने दुवै जनाको पहिचान खुल्यो


दाङ ।
सल्यानमा भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय हेमराज बीसी र सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिनुभयो । बुधबार छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।

बालुसंग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी रहेका छन् ।

उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जनाएका छन् । जिपमा चार जना मात्रै सवार रहेको खुलेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस