तुलसीपुर । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरबाट बितेको आर्थिक वर्ष २०८२/८३ मा ३८ हजारभन्दा बढी बालबालिकाले स्वर्णबिन्दु प्राशन सेवा लिएका छन्।
चिकित्सालयको स्वर्णबिन्दु प्राशन कार्यक्रमको प्रतिवेदनअनुसार उक्त गत आर्थिक वर्षमा विभिन्न नौ चरणमा गरी ३८ हजार २ सय ९८ जना बालबालिकाले सेवा लिएका हुन्।
चिकित्सालयका प्रमुख डा. मदन कुमार बिसीका अनुसार गत मंसिरदेखि असारसम्म सञ्चालन गरिएको कार्यक्रममा बालबालिकालाई सेवा प्रदान गरिएको हो।
चिकित्सालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिर २२ गतेदेखि सुरु भएको कार्यक्रममा पहिलो महिना मंसिरमा २ हजार ६ सय ५ जना, पुसमा ३ हजार १ सय ४५ जना, माघमा ३ हजार ७ सय १४ जना, फागुनमा ४ हजार ४ सय १३ जना र चैतमा ४ हजार ५ सय ८८ जना बालबालिका सहभागी भएका छन्।
त्यस्तै, २०८३ सालको वैशाखमा ४ हजार ८ सय ३८ जना, जेठमा ५ हजार ३ सय ५० जना, असारमा ५ हजार १ सय ५७ जना र असारमा ४ हजार ४ सय ८८ जना बालबालिकालाई स्वर्णबिन्दु प्राशन सेवा प्रदान गरिएको चिकित्सालयको तथ्यांकमा उल्लेख छ।
डा. बिसीका अनुसार स्वर्णबिन्दु प्राशन कार्यक्रम बालबालिकाको शारीरिक तथा मानसिक विकास, रोगप्रतिरोधात्मक क्षमता वृद्धि र स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रमप्रति अभिभावकको आकर्षण बढ्दै गएको र नियमित रूपमा सेवा लिन आउने बालबालिकाको संख्या पनि उल्लेख्य रहेको उहाँले बताउनुभयो।
चिकित्सालयले बालबालिकालाई आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा पनि चिकित्सालयले स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई निरन्तरता दिएको छ। साउनमा ४ हजार ७ सय २६ जना बालबालिकाले स्वर्णबिन्दु प्राशन गरेका छन्।
राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरले स्वर्णबिन्दु प्राशनसँगै बालबालिकाको स्वास्थ्यसम्बन्धी आयुर्वेदिक सेवा तथा परामर्शसमेत प्रदान गर्दै आएको जनाएको छ। कार्यक्रमप्रति अभिभावकको सहभागिता बढ्दै गएसँगै सेवाग्राही बालबालिकाको संख्या पनि उल्लेख्य रहेको प्रतिवेदनले देखाएको छ।






















