दैलेख । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुर दाङको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला आज (शुक्रबार)देखि सुरु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाई २०६४ सालमा स्थापना भएको सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ काे वार्षिक प्रगति समिक्षा र आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्न कार्यशाला आयाेजना गरिएकाे हाे ।
कार्यशालाको उद्घाटन संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक हरिहरनाथ याेगीकाे प्रमुख आतिथ्यतामा दैलेखकाे गुरासेमा गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि योगीले सहकारी संस्थाहरू आफ्नो उद्देश्य र विधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। केही गलत मनसायका साथ स्थापना तथा सञ्चालन भएका सहकारीका कारण समग्र सहकारी क्षेत्रप्रतिको दृष्टिकोण नै नकारात्मक बन्ने अवस्था आएको उहाँको भनाइ थियो।
उहाँले नीति, विधि र उद्देश्यअनुसार सञ्चालन भएकै कारण हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी देशकै उत्कृष्ट सहकारीमध्ये पर्न सफल भएको बताउनुभयो।
संस्थाले पञ्चवर्षीय रणनीतिक योजना निर्माण लागू गरेर कार्यान्वयन गरेका कारण विभागहरूले सफलता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको संस्थाका सल्लाहकार भरत भण्डारीले बताउनुभयो । उहाँले अब निर्माण हुने आगामी वर्षको योजना निर्माण गर्दा विगतको समीक्षा, छलफल तथा लक्ष्य प्राप्तिमा गरिएको मेहनतलाई आधार मान्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयाेजक शरद शर्मा न्याैपानेले संस्थाका सबै सदस्यहरूको त्याग, सहयोग र एकताको भावनाले सहकारी संस्थाले तय गरेका याेजना लक्ष्य अनुसार प्राप्ति गर्न सफल भएको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरूका लागि लक्षित कार्यक्रमहरू निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले संस्था सञ्चालनका लागि सहभागितामूलक व्यवस्थापन प्रणाली अवलम्बन गरिरहेको बताउनुभयो । अध्यक्ष भण्डारीले सहकारीलाई केवल आर्थिक कारोबारको माध्यम मात्र नभई सामाजिक रूपान्तरण र सदस्यहरूको समृद्धिको साझा अभियानका रूपमा अघि बढाइरहेको बताउनुभयो।
उहाँले नीति निर्माण तयारीको चरणमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र सबै विभागका विभागीय व्यवस्थापकहरू संगको व्यापक छलफलपछि अन्तिम नीति तथा कार्यक्रम तय गरिने भएकाले कार्यान्वयन तवरमा सजिलो हुने बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा घनिभुत छलफल गरेर आगामी वर्षको वार्षिक याेजना तयार पारिने बताउनुभयाे ।
संस्थाका उपाध्यक्ष ममता बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवराज अधिकारीले गर्नुभएको होे । कार्यशाला आइतबारसम्म सञ्चालन हुनेछ ।
सहकारी संस्थाले हाल बचत तथा ऋण विभाग, सहकारी पेट्रोल पम्प, रेडियो हाम्रो पहुँच, हाम्रो पहुँच सेकेण्डरी स्कुल, डेरी विभाग र कृर्षि विभाग सञ्चालन गरेको छ । त्यस्तै संस्थामा अहिले ५ हजार ५ सय बढी सदस्यहरु रहेका छन् भने एक सय १४ जना स्वरोजगार रहेका छन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था २०८१ सालमा नेपालमै बहुउद्देश्यीय कारोबार गर्ने संस्थाहरू मध्य उत्कृष्ट कारोबार गर्ने संस्थाका रूपमा पुरस्कृत समेत भइसकेको छ ।






















