२०८३ साउन ३१ गते आइतवार

रोल्पामा पहिरोले दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै वेपत्ता


रोल्पा ।
रोल्पामा दुई दिनको अवधिमा पहिरोबाट ठुलो जनधनको क्षति भएको छ । बुधबार साँझ र बिहिबार रातीको पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । पहिरोले थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका क्षति पुर्‍याएको छ ।

गत २७ गते बुधबार थबाङ गाउँपालिका –५ कोटलबारामा पहिरोले एउटा बस्ती नै बगाएको छ । पहिरोमा परेर अहिलेसम्म ११ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । पहिरोमा परी हराएका दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । पहिरोमा परेर घाइते भएका दुई जनाको बुटवलमा उपचार भइरहेको छ ।

पहिरोले गाउँ नै बगाएपछि थवाङ गाउँपालिका शोकमा छ । आफन्त र स्थानीवासीहरू पहिरोले दिएको पीडा सहन नसक्ने अवस्थामा छन् । मृतक ७ वर्षीय अशोक पुनमगरका काका कृष्ण पुनमगरले एक्कासी आएको पहिराले आफन्त गुमाउन बाध्य भएको बताउनुभयो ।

११ जनाको मृत्यु, २ जना बेपत्ता र २ जना घाइते भएको थबाङ चिन्तित र शोकमा रहेको गाउँपालिकाका अध्यक्ष ऋृषिकेशव बुढामगरले बताउनुभयो । थबाङमा मात्रै पहिरोमा परेर ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको थियो ।

यसैगरी सुनछहरी गाउँपालिका–२ फलबाङ्ग र गिट्ठेमा पनि पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर सुनछहरी–२ फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगरको निधन भएको छ ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले चारजनाको पहिरोमा परी मृत्यु भएको घटनाले आफू मर्माहत भएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस