दाङ । लुम्बिनी प्रदेशमा जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन् । ती घटनामा ८५ जनाको मृत्यु, १३ जना घाइते र दुई जना बेपत्ता भएका छन् ।
शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार पानीमा डुबेर ५८ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीका चार, चट्याङका सात, पहिरोका १० तथा अधिक वर्षाका कारण छ वटा घटना भएका छन् । बाढीमा परेर ४, चट्याङमा परेर ३, पहिरोमा परेर २० जनाको मृत्यु भएको छ ।
रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ । थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ ।
लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा छ । चार स्थानीय तहमा गरी ११ घरधुरी विपद्बाट विस्थापित भएका छन् । चार स्थानीय तहमा गरी ३१८ घरधुरी जोखिममा रहेका छन् ।
त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकातर्फको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परेर आवागमन अवरुद्ध भएको अवस्थामा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेको जनाउँदै सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता गर्नु भएको छ ।






















