२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरकी नारायणी विदेशी पर्यटक लिएर मानसरोवर जाँदै थिइन्


दाङ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन रहेकी दाङको तुलसीपुर उपमहानगरपालिका-७ हात्तीखौवा निवासी २८ वर्षीया नारायणी पराजुली टुरिस्ट गाइड रहेको खुलेको छ।


पराजुली काठमाडौंस्थित फिस्टेल टुर्स एन्ड ट्राभल्समा कार्यरत रहेको उनका काका यमलाल पराजुलीले जानकारी दिनुभयो। यसअघि उनी एक लघुवित्त संस्थामा कार्यरत थिइन्। ट्राभल्समा जोडिएको करिब ६ महिना मात्रै भएको परिवारले जनाएको छ।

देवीराम पराजुली र रूकमाया पराजुलीका तीन सन्तानमध्ये नारायणी जेठी छोरी हुन्। उनी स्नातकोत्तर तहको अध्ययनसँगै विद्यावारिधिको अन्तिम चरणमा थिइन्।


पारिवारिक स्रोतका अनुसार नारायणी २७ जना विदेशी पर्यटकसहितको टोली लिएर भदौ ९ गते काठमाडौंँबाट मानसरोवर यात्रामा निस्किएकी थिइन्। सो दिन साँझ उनीहरू रसुवाको टिमुरे बजारस्थित एक होटलमा बास बसेका थिए।


भदौ १० गते बिहान करिब साढे ७ बजेतिर टिमुरेबाट यात्रा अघि बढाएको जानकारी नारायणीले फोनमार्फत आफ्नी आमा रूकमायालाई गराएकी थिइन्। परिवारका अनुसार त्यो फोन नै नारायणीसँग भएको अन्तिम सम्पर्क थियो।


त्यसको करिब एक घण्टापछि, बिहान ८ बजेर ४० मिनेटतिर एक मलेसियन पर्यटकले यात्राका क्रममा खिचिएको रमाइलो भिडियो फेसबुकमा पोस्ट गरेका थिए। परिवारले उक्त भिडियो हेरेको केही समयपछि नै भोटेकोशीमा भीषण बाढी आएको थियो।


त्यसपछि नारायणीसहित यात्रामा रहेका टोलीका सदस्यहरूसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन।


बाढी आएको तीन दिन बितिसक्दा पनि छोरीको अवस्था अज्ञात रहेपछि परिवारको पीडा झन् बल्झिदै गएको छ। छोरीको कुनै खबर आउँछ कि भन्ने आशामा आमा रूकमाया र परिवारका अन्य सदस्यहरू बेचैन बनेका छन्।

घरमा छोरीको सम्झनाले परिवारलाई भावविह्वल बनाएको छ भने हरेक फोनको घण्टीसँगै ‘नारायणीको खबर त होइन?’ भन्ने आशा जाग्ने गरेको छ।


छोरीको खोजी र उद्धारका लागि उनका बुवा देवीराम पराजुली र काका यमलाल पराजुली शुक्रबार बिहान घटनास्थलतर्फ प्रस्थान गर्नुभएको छ। आफ्नी छोरी सकुशल भेटिने आशा बोकेर उनीहरू घटनास्थलतर्फ लागेका हुन्।


यता, तुलसीपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष रामबहादुर जिसीले रसुवाको बाढीमा सम्पर्कविहीन नारायणी पराजुलीको खोजी तथा उद्धारका लागि आवश्यक सहयोग गरिदिन सबैमा आग्रह गर्नुभएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस