२०८३ भाद्र २१ गते आइतवार

सिसिटिभीबाटै मोबाइलमा घन्टी बज्नेदेखि एआईबाट ग्राहकलाई जवाफ दिने ‘स्मार्ट परिवार’


दाङ । तुलसीपुरबाट सञ्चालनमा आएको स्मार्ट टिम नेटवर्क्स प्रा.लि.द्वारा सञ्चालित ‘स्मार्ट परिवार’ले सिसिटिभीबाटै सूचना प्राप्त गर्नेदेखि एआईमार्फत ग्राहकलाई जवाफ दिनेसम्मका सुविधा उपलब्ध गराउने जनाएको छ । व्यवसायीले आफ्नो पसलमा जडान गरिएको सिसिटिभी क्यामेरा प्लेटफर्मसँग जोडेर ग्राहकलाई पसल लाइभ देखाउन, वास्तविक समयमा ग्राहकसँग कुराकानी गर्न र सामान बिक्री गर्न सक्ने व्यवस्था गरिएको ‘स्मार्ट परिवार’ मोबाइल एप सार्वजनिक गरिएको छ ।

कम्पनीका निर्देशक दुर्गा गिरीका अनुसार अझ रोचक कुरा त के छ भने घर तथा पसलमा जडान गरिएका सिसिटिभी क्यामेरा सिधै एपमा लिंक गरेपछि दर्ता गरिएको मोबाइल नम्बरमा तत्कालै घन्टी बज्ने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो सुविधामार्फत घर तथा पसलमा हुन सक्ने शंकास्पद गतिविधि वा चोरीको घटनाबारे तत्काल जानकारी पाउन सकिने भएकाले २४ घण्टा सिसिटिभी निगरानीमा बस्नुपर्ने बाध्यता कम हुने कम्पनीको दाबी छ ।

स्मार्ट परिवारमा यात्रा, बस टिकट, खाना अर्डर, स्थानीय पसल तथा नेपाली सामग्री हेर्नेलगायतका सुविधा समेटिएका छन् । हाल सेवा तुलसीपुर, घोराही, लमही र भालुवाङलगायत दाङका विभिन्न क्षेत्रमा उपलब्ध रहेको र देशभर विस्तार गर्दै लैजाने योजना रहेको कम्पनीले जनाएको छ । ग्राहकका लागि ‘स्मार्ट परिवार’ र चालकका लागि ‘स्मार्ट ड्राइभर’ गरी दुई छुट्टाछुट्टै एप तयार गरिएको छ । दुवै एप हाल एन्ड्रोइड मोबाइलका लागि उपलब्ध छन्। गुगलमा smartpariwar.com खोजेर एप डाउनलोड गर्न सकिने र केही समयमै गुगल प्ले स्टोर संस्करणसमेत उपलब्ध गराउने निर्देशक गिरीले जानकारी दिनुभयो।

गिरीका अनुसार ग्राहकले डिजिटल रूपमा सामान हेर्नुका साथै लाइभ च्याट, क्यूआर तथा बैंक ट्रान्सफरमार्फत भुक्तानी र अर्डरको डेलिभरी ट्र्याकिङ गर्न सक्नेछन्। त्यस्तै, उत्पादनलाई आकर्षक रूपमा प्रस्तुत गर्न थ्रीडी प्रोडक्ट भ्यु तथा व्यवसायीको पहिचानका लागि भेरिफाइड स्टोरको सुविधा पनि राखिएको छ । कम्पनीका अनुसार एआई प्रणालीमा ग्राहकका प्रश्नको स्वचालित जवाफ दिने सुविधा रहेको छ । यस्तै, चालकसहितको सवारी बुकिङ गर्न सकिने व्यवस्था पनि गरिएको छ । सेवाग्राहीले आफू जाने गन्तव्य राखेर सवारी बोलाउन सक्ने, यात्रा सुरु गर्नुअघि नै भाडा थाहा पाउने तथा यात्रालाई प्रत्यक्ष रूपमा हेर्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

लामो दूरीका बसको टिकटसमेत अनलाइनबाटै काट्न सकिनेछ । यात्रुले बसको सिट नक्सा हेरेर आफूलाई उपयुक्त सिट छनोट गर्न सक्नेछन्। महिलाका लागि छुट्टै सिट तथा डिजिटल टिकटको सुविधासमेत राखिएको कम्पनीले जनाएको छ । घरमै बसेर खाना मगाउन चाहनेका लागि ‘स्मार्ट किचन’ सेवापनि सञ्चालनमा ल्याइएको छ । यसमार्फत स्थानीय रेस्टुरेन्ट तथा खाजाघरमा उपलब्ध खानेकुरा एपबाटै अर्डर गरी घर वा कार्यालयसम्म मगाउन सकिनेछ ।

यस्तै, स्थानीय व्यवसायीलाई डिजिटल बजारमा जोड्ने उद्देश्यले ‘स्मार्ट शोरुम’को अवधारणा अघि सारिएको छ । यसमा व्यवसायीले आफ्ना उत्पादन तथा सामान डिजिटल रूपमा प्रदर्शन गर्न सक्नेछन् भने ग्राहकले एपमार्फत सामान हेरेर अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ । मनोरञ्जनका लागि ‘स्मार्ट टिभी’ सेवासमेत समावेश गरिएको छ । यसमार्फत नेपाली सामग्री आफ्नै डिजिटल च्यानलमार्फत एपमै हेर्न सकिने कम्पनीले जनाएको छ ।

यातायात क्षेत्रमा काम गर्ने चालकलाई समेत डिजिटल प्लेटफर्ममा जोड्न ‘स्मार्ट ड्राइभर’ सेवा ल्याइएको छ । चालकले यसमार्फत दर्ता गर्न, सवारीसम्बन्धी अनुरोध स्वीकार गर्न तथा आफ्नो आम्दानीको विवरण हेर्न सक्नेछन् । सेवा शुभारम्भको अवसर पारेर पहिलो एक महिनासम्म मोटरसाइकल, अटो र कार निःशुल्क रूपमा डिजिटल प्लेटफर्ममा दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसपछि नवीकरण गर्दा हरेक महिना एक हजार पाँच सय रुपैयाँ सेवा शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष अरुण श्रेष्ठका अनुसार ठूला सहरमा केन्द्रित डिजिटल सेवाहरूलाई दाङका नागरिकसम्म पु¥याउने उद्देश्यले स्मार्ट परिवार एप तयार गरिएको हो। उहाँका अनुसार स्थानीय आवश्यकता र बजारलाई बुझेर दाङबाटै यो प्रविधिको विकास गरिएको यो प्लेटफर्मले स्थानीय व्यवसायी तथा चालकको आम्दानी बढाउनसमेत सहयोग गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले यातायात, खाद्य सेवा, व्यापार तथा मनोरञ्जनलाई प्रविधिसँग जोडेर स्थानीय स्तरमै डिजिटल अर्थतन्त्रको विकास गर्ने लक्ष्य लिएको जनाएको छ । त्यस्तै, आपत्कालीन अवस्थामा मेडिकल, आगलागी वा अपराधसँग सम्बन्धित विषय पहिचान गरी नेपालका सम्बन्धित आपत्कालीन नम्बरमा सुझाव दिने सुविधा पनि राखिएको कम्पनीले जनाएको छ ।

स्मार्ट परिवारमा ‘सोध्नुस्’ नामको एआई सेवा पनि समावेश गरिएको छ । यसमार्फत सरकारी सेवा, स्वास्थ्य, कानुन, कृषि, शिक्षा, वैदेशिक रोजगारी तथा व्यवसायलगायतका विषयमा नेपाली भाषामै प्रश्न सोधेर उत्तर लिन सकिने कम्पनीको दाबी छ । यो सेवा २४ घण्टा निःशुल्क उपलब्ध हुने बताइएको छ ।

स्मार्ट परिवार मोबाइल एपको शुक्रबार तुलसीपुरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष अरुण श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यतामा मोबाइल एप सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विमल रिजालले स्थानीय स्तरबाट सुरु भएको प्रविधिमैत्री सेवाले दाङको डिजिटल बजार विस्तारमा योगदान पु¥याउन सक्ने बताउनुभयो । नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले स्थानीय व्यवसाय र उपभोक्तालाई एउटै डिजिटल माध्यममा जोड्ने प्रयास सकारात्मक रहेको धारणा राख्नुभयो । युवा व्यवसायी केशव नेपालीले प्रविधिको प्रयोगसँगै स्थानीय उत्पादन र व्यवसायलाई बजार विस्तारको अवसर सिर्जना हुने बताउनुभयो ।

कम्पनीका निर्देशक दुर्गा गिरीले स्वागत मन्तव्यसंगै विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण प्रेम विवश घर्तीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस