दाङ । दाङको दंगीशरण गाउँपालिका–२, कलमखोलास्थित हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावितका लागि २५ हजार २ सय १ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संस्थाको सञ्चालक समिति र लेखा समितिको भदौ १२ गते बसेको संयुक्त बैठकले आगामी चौथो वार्षिक साधारणसभामा शेयर सदस्यहरूप्रति गरिने स्थानीय भाडा तथा खाजा खर्च कटौती गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहकारीले दिवङ्गतहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष राजेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा सामाजिक उत्तरदायित्व बहन गर्दै विपद्को यस कठिन घडीमा आ–आफ्नो क्षेत्रबाट राहत र उद्धारमा सहयोग पुर्याउन सम्पूर्ण नागरिक तथा सङ्घसंस्थालाई अपिल समेत गरिएको छ ।






















