दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले भोटेकोशी बाढीबाट प्रभावितलाई साढे २ लाख बढी सहयोग गरेको छ ।
संस्थाले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि प्रधानमन्त्री दैवी राहत कोषमा २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग जम्मा गरेको हो । संस्थाका कोषाध्यक्ष भोला थापाका अनुसार बाढी प्रभावितको राहत तथा उद्धारका लागि संस्थाको तर्फबाट २ लाख ५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
कोषाध्यक्ष थापाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । उहाँले बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन संस्थाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताउनुभयो।
अध्यक्ष भण्डारीले विपद्को समयमा राहत तथा उद्धारका लागि सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।






















