दाङ । रोजगारीका लागि युवाहरू विदेशिने क्रम बढिरहेका बेला तुलसीपुरकी करुणा केसीले भने स्वदेशमै व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने प्रयास थाल्नुभएको छ ।
केसीले तुलसीपुर–१८ बिजौरीको मानपुर रोडमा करिब २५ लाख रुपैयाँको लगानीमा कौडिन्य मिष्ठान्न भण्डार सञ्चालनमा ल्याउनुभएको हो । मिष्ठान्न भण्डारमार्फत उहाँले आफू स्वरोजगार बन्नुका साथै थप ६ जनालाई प्रत्यक्ष रोजगारी दिने बताउनुभएको छ ।
स्वदेशमै केही गरौँ भन्ने सोचका साथ व्यवसायमा लगानी गरेको केसीले बताउनुभयो । तुलसीपुर–१९ निवासी केसीले व्यवसायबाट आफूले आम्दानी गर्ने मात्र नभई अन्य व्यक्तिलाई समेत रोजगारी दिने अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।
‘विदेश गएर रोजगारी खोज्नुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले व्यवसायमा लगानी गरेकी हुँ ।’ केसीले भन्नुभयो–‘आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि रोजगारी दिन सक्ने वातावरण बनाउन सकियोस् भन्ने उद्देश्य हो ।’
कौडिन्य मिष्ठान्न भण्डार सञ्चालनमा करुणा केसीलाई उहाँका भाइ लोकमान केसीको समेत साथ रहेको छ ।






















