सल्यान । तरकारीमा विषादी न्यूनिकरण गर्नका लागि सल्यानको कपुरकोटमा विषादी परीक्षण गरिने भएको छ । तरकारीको हब मानिएको कपुरकोटमा ठुलो मात्रामा तरकारी उत्पादन हुने गरेको छ । तर कतिपय किसानले तरकारीमा अत्याधिक विषादी प्रयोग गर्ने गरेका कारण तरकारीमा विषादीको मात्रा परीक्षण गर्न लागिएको हो ।
विषादी परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री व्यवस्थापन भइसकेको छ । अब प्राविधिक जनशक्ति व्यवस्थापनको काम अघि बढेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले तरकारी तथा फलफूल बजारमा पठाउनुअघि नै उत्पादनस्थलमा विषादी परीक्षण गर्न सकिने बताउनुभयो । किसानलाई सुरक्षित र आवश्यकता अनुसार मात्रै रासायनिक विषादी प्रयोग गर्न नियमित रूपमा सचेत पनि गराइँदै आएको उहाँले बताउनुभयो ।
कपुरकोट गाउँपालिका–३ स्थित कृषि उपज बजार केन्द्रपरिसरमा करिब ५० लाख रुपियाँको लागतमा प्रयोगशाला भवन निर्माण गरिएको छ । भवन २०७८ सालमै निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र प्राविधिक जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको थिएन । अहिले उपकरण पुगेपछि प्रयोगशाला सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।






















