२०८३ भाद्र ८ गते सोमवार

विदेशबाट फर्किएर दाङका युवाको कृषि उद्यमतर्फ आकर्षण


दाङ। विदेशी भूमिमा पसिना बगाएर फर्किएका दाङका दुई युवाले आफ्नै ठाउँमा कृषि र कुखुरापालन गरेर आम्दानी गर्न थालेका छन् । व्यावसायिक केरा खेतीसँगै बाख्रा र कुखुरापालनमा संलग्न युवाले आयआर्जनका साथै स्थानीयलाई रोजगारीमा समेत जोड्ने काम गरेका छन् ।

प्युठानको ऐरावती गाउँपालिका–२ का हुमबहादुर केसी आठ वर्ष जापानमा रोजगारी गरेर स्वदेश फर्किएपछि दाङको घोराही–१२ हापुर रतनपुरमा व्यावसायिक कृषिमा लाग्नुभएको छ ।

विद्यालयको आठ बिघा जग्गा भाडामा लिएर केसीले करिब चार बिघामा केराखेतीसँगै ब्रोइलर कुखुरा र बाख्रापालन गर्दै आउनुभएको छ । कृषि व्यवसायबाट मासिक एक लाख २५ हजार रुपैयाँसम्म बचत हुने गरेको उहाँले बताउनुभएको छ ।

व्यवसायमा चार जनालाई नियमित रूपमा रोजगारीसमेत प्रदान गरेका केसीले महिनामा दुई लाख ५० हजारसम्म कारोबार गर्ने गरेको बताउनुभयो । एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर कृषिकर्म गर्दै आएका केसीले विद्यालयलाई वार्षिक ८० हजार रुपियाँ भाडा तिर्ने गर्नुभएको छ ।

त्यस्तै, घोराही–९ अस्पारीका हरपल केसी पनि विदेशबाट फर्किएर व्यावसायिक कुखुरापालनमा लाग्नुभएको छ । मलेसियामा चार वर्ष बसेर फर्किनुभएका उहाँले पाँच वर्षदेखि दुईवटा खोरमा कुखुरा पाल्दै दैनिक ११ देखि १२ पेटीसम्म अण्डा उत्पादन गर्दै आउनुभएको छ ।

उत्पादित अण्डा घोराही, नारायणपुरलगायतका बजारमा बिक्री गर्दै आउनुभएको छ । महिनामा दुई लाख ५० हजारसम्मको अन्डा उत्पादन गरेर बिक्री गर्ने केसीले मासिक ९० हजारदेखि एक लाखसम्म बचत हुने बताउनुभयो । दुई वटा खोरमा तीन हजार बढी कुखुरापालन गरेका केसी आम्दानीबाट सन्तुष्ट रहेको बताउनुभयो ।

विदेशमा रोजगारी गर्नुभन्दा आफ्नै ठाउँमा कृषि व्यवसाय गर्न सके परिवारसँगै बसेर आम्दानी गर्न सकिने भएकाले आफूहरू स्वदेशमै कृषि कर्ममा लागेको उहाँको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस