२०८३ भाद्र २८ गते आइतवार

सल्यानमा पहिरोमा परेर १७ वर्षीय मदन पुनको मृत्यु


दाङ । सल्यानमा पहिरोमा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–५ खारखोलास्थित राप्ती राजमार्गमा गएराति पैदल पहिरो पार गर्ने क्रममा माथिबाट आएको पहिरोमा परेर त्रिवेणी गाउँपालिका–३ लोटाउनेका मदन पुन घाइते हुनुभएको थियो ।

पहिरोमा परी गम्भीर घाइते हुनुभएका पुनलाई कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा चिकित्सकले राति १ बजे उहाँलाई मृत घोषणा गरेको सल्यान प्रहरीले जनाएको छ । पुनको टाउको, छाती, हात र खुट्टामा चोट लागेको थियो । उहाँको शव जिल्ला अस्पताल सल्यानको शवगृहमा राखिएको छ ।

सोही घटनामा त्रिवेणी गाउँपालिका–३ कै करिब १८ वर्षीय सुनिल थापा पनि घाइते हुनुभएको छ । उहाँको बायाँ हात र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस