दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत ग्वारखोला पुलको पूर्वतर्फ सडक भासिएर बन्द भएको सवारी आवागमन चार दिनभित्र सहज हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख माधव ओली र विपद् व्यवस्थापन समिति संयोजक दुजमान भण्डारी सोमबार फिल्डमै पुगेर सडक सञ्चालनका लागि तत्काल पहल गर्नुभएको हो ।
नगरको टोलीले पुल सञ्चालन गर्न वा तत्काल डाइभर्सन निर्माण गरी सवारी आवागमन सहज बनाउन निर्देशन दिएको हो । निर्देशनपछि ठेकेदार कम्पनीका प्रतिनिधिले असोज १६ गतेसम्म सडक सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, बाइपासका रूपमा प्रयोग भइरहेको वैकल्पिक सडकमा रहेका खाल्डाखुल्डी पुरेर आवागमन सहज बनाउने कामसमेत गरिएको छ । सडक भासिएपछि ग्वारखोला पुलको पूर्वतर्फको सडकमा तीन दिनदेखि सवारी आवागमन बन्द रहेको छ ।



























