दाङ । तुलसीपुर उपमहानगरपालिकाभित्र कित्ताकाटसम्बन्धी समस्या समाधान गर्न माग गर्दै तुलसीपुरका नागरिकहरूले नगर प्रमुखसमक्ष निवेदन दिएका छन् ।
कार्यबहाक नगरप्रमुख माधव वलीलाई बुझाइएको निवेदनमा जग्गा कित्ताकाटको विषयमा देखिएको समस्याका कारण नागरिकहरू मर्कामा परेको उल्लेख गरिएको छ । लामो समयदेखि कित्ताकाटसम्बन्धी समस्या समाधान हुन नसकेको भन्दै तत्काल आवश्यक पहल गर्न उनीहरूले माग गरेका छन् ।
निवेदनमा कित्ताकाट रोकिँदा जग्गाधनी तथा सेवाग्राहीहरूलाई समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
निवेदकहरूले समस्या समाधान नभए चरणबद्ध रूपमा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्। उनीहरूले नागरिकको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएर पहल गर्नुपर्ने माग गरेका छन् ।
निवेदनमा धनिराम सुवेदी, दिव्यबहादुर जि.सी. (करण), टोपेन्द्र बहादुर डाँगी, उदय वली, सुरेन्द्र रिजाल, देवीप्रसाद भुसाल, विष्णुप्रसाद सुवेदी, नवराज सुवेदी, राजन डाँगी, नारायण वली, रुद्र बस्नेत र भागीराम डाँगी लगायतका व्यक्तिहरूको हस्ताक्षर रहेको छ ।


























