२०८३ असोज २० गते मङ्गलवार

थारू परिकारको बजारीकरण गरिँदै


दाङ । थारू समुदायका मौलिक परिकारलाई व्यावसायिकरूपमा बजारीकरण गर्ने क्रम बढेको छ । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका ढिक्री, घोंघी, अनदीको भात, भक्का लगायतका परिकार अब गाउँघर र पर्वमा मात्र सीमित नरही व्यवसायको माध्यम बन्न थालेका छन् ।

यसैक्रममा शनिबार दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकार उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ ।

थारू समुदाय संस्कार, संस्कृति, खानपान र रहनसहनका हिसाबले धनी भए पनि पछिल्लो समय मौलिक खानपान लोप हुँदै गएको भन्दै संरक्षण र बजारीकरणका लागि ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको सञ्चालक रोशन रत्गैयाले बताउनुभयो ।

बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान तथा रेस्टुरेन्टको उपस्थिति बाक्लिँदै गए पनि थारू समुदायको मौलिक खानपान व्यावसायिक रूपमा पछाडि रहेको उहाँको भनाइ छ ।

‘ढिक्री घर’मा चामलको पीठोबाट बनाइने ढिक्रीसँगै घोंघी, अनदीको भात, भक्का, सुँगुरको मासु, हाँसको मासु, लोकल कुखुराको मासु, गङ्गटालगायत थारू समुदायको पहिचानसँग जोडिएका परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताउनुभयो ।

उहाँका अनुसार थारू समुदायको पहिचानका रूपमा रहेका सबै मौलिक खानालाई एउटै स्थानबाट उपलब्ध गराउने प्रयास गरिएको छ । यसले खानपानलाई व्यावसायिक बनाउनुका साथै समुदायको सांस्कृतिक पहिचान संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले ढिक्रीलगायत थारू समुदायका मौलिक परिकारलाई व्यावसायिकरूपमा अगाडि बढाउनु सकारात्मक भएको बताउनुभयो । थारू समुदायका परिकार स्वास्थ्यका हिसाबले पनि उपयोगी रहेकाले पछिल्लो समय यसको माग बढ्दै गएको उहाँको भनाइ छ ।

परम्परागत परिकारको बजारीकरणले आम्दानीको स्रोतसँगै स्वरोजगार सिर्जना गर्नसमेत सहयोग पुगेको उहाँले बताउनुभयो । दाङमा पछिल्लो समय थारू समुदायका मौलिक परिकारलाई व्यावसायिक बनाउने अभ्यास बढ्दै गएको छ । घोराहीमा कविला रिसोर्ट, दङ्गीशरणमा थारू होमस्टे र तुलसीपुरमा थारू मिन्हीघर सञ्चालनमा आएपछि मौलिक परिकारको बजारीकरण गर्ने क्रम थप विस्तार भएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारू समुदायलाई विभिन्न तालिम प्रदान गरी परम्परागत परिकारको बजारीकरणमा जोड दिइएको बताउनुभयो । दाङसहित विभिन्न जिल्लाका थारू समुदायलाई मौलिक परिकार उत्पादन तथा बजारीकरणसम्बन्धी तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस