दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दाङका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा, बालुवा र गिट्टी ओसारपसार कार्यमा संलग्न २ वटा टिप्पर र ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
असोज १२ गतेदेखि असोज १९ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र १ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त जरिवाना सम्बन्धित व्यक्तिहरूबाट जम्मा गरी दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

























