दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ जबरपुरमा रहेको नमुना भूह्याँरथानमा दशैंको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मटाँवा बरघर भलमन्सा तुलसीपुर नगर समितिका बुझौना चौधरीको अध्यक्षतामा आज तुलसीपुरमा बसेको बैठकले दशैंको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
मटाँवा बरघर भलमन्सा तुलसीपुर नगर समिति, नमुना भूह्याँरथान, थारू कल्याणकारीणि सभा क्षेत्र नम्बर ३ र थारू कल्याणकारी सभा तुलसीपुरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार कार्यक्रम असोज २६ गते सोमबार नमुना भूह्याँरथान जबरपुरमा हुनेछ ।
कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयारी बैठकसमेत बसेको नमुना भूह्याँरथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार थारू समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । विशेषगरी दशैंमा नाचिने परम्परागत दशैंको सख्या नाचको संरक्षणमा कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विभिन्न पाँच गाउँका समूहले दशैंमा नाचिने मौलिक सख्या नाच प्रदर्शन गर्ने जनाइएको छ । कार्यक्रमले थारू समुदायको कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
तयारी बैठकमा नमुना भूह्याँरथानका अध्यक्ष रामशरण चौधरी, थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, थारू कल्याणकारीणि सभा क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन धरकट्वा,थारू कल्याणकारी सभा तुलसीपुरका पूर्वअध्यक्ष गणेश चौधरी, अध्यक्ष पुरन चौधरी रा थारू अगुवाहरू छोटिलाल चौधरी, केबी चौधरी र इन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।


























