२०८३ कार्तिक ६ गते शुक्रवार

तिहारमा बहिनीलाई टीका लगाइदिने अरुणको वाचा अधुरै

“छोराले तिहारमा बहिनीहरूसँग टीका लगाउन आउँछु भनेको थियो । वैशाखमा घर आएपछि काममा फर्किएको थियो । अब तिहारमा आउँछ, बहिनीहरूलाई टीका लगाइदिन्छ भन्ने आशा थियो । तर, भदौ १० गते आएको बाढीले हाम्रो सबै खुसी खोसिदियो ।”


दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियाका ५४ वर्षीय चिन्ताबहादुर चौधरीको अनुहारमा छोराको सम्झनाले छाएको पीडा प्रस्ट देखिन्छ । उहाँका २२ वर्षीय छोरा अरुण चौधरी गत भदौ १० गते रसुवामा आएको भोटेकोशी नदीको विनाशकारी बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । रसुवास्थित लाङटाङ खोला हाइड्रोपावरमा सब–इन्जिनियरका रूपमा कार्यरत अरुण बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आउनुभएको छैन ।

दिन बित्दै गएका छन् । चाडपर्व नजिकिँदै छन् । गाउँघरमा दशैं–तिहारको रौनक बढिरहेको छ । तर, चिन्ताबहादुरको घरमा भने न चाडपर्वको उत्साह छ, न मनमा शान्ति । उहाँको मनमा एउटै प्रश्न घुमिरहन्छ— कतै छोरा फर्किएर आउँछन् कि?
घरको आँगनमा बसेर बाटो हेर्दा पनि उहाँलाई लाग्छ, अब छोरा आइपुग्छ कि! फोन बज्दा पनि छोराकै फोन आयो कि भन्ने आशा जाग्छ । तर, त्यो आशा हरेक पटक निराशामा बदलिन्छ ।

“हजारौँ पटक फोन गर्‍यौँ होला । फोनको घण्टी बज्दा छोराकै फोन आयो कि जस्तो लाग्छ । तर, अहिलेसम्म छोरासँग सम्पर्क हुन सकेको छैन,” चिन्ताबहादुर भन्नुहुन्छ, “अब त बाटो हेर्दै बस्ने मात्रै भएको छ । छोरा आउँछ कि, आउँछ कि भन्ने लागिरहन्छ ।”

चिन्ताबहादुरको ६ जना छोरी र एउटा छोरा अरुण मात्रै हुनुहुन्नथ्यो । उहाँ बुढेसकालको सहारा, परिवारको आर्थिक आधार र वर्षौँको दुःखपछि देखिन थालेको सुखद भविष्यको आशा हुनुहुन्थ्यो ।

अरुणलाई राम्रो शिक्षा दिएर आत्मनिर्भर बनाउने चिन्ताबहादुरको सपना थियो । आर्थिक अवस्था कमजोर भए पनि उहाँले छोराको पढाइमा सकेसम्म कमी हुन दिनुभएन । कक्षा ४ सम्म बोर्डिङ स्कुलमा पढाउनुभयो । त्यसपछि कक्षा ५ देखि १० सम्म सामुदायिक विद्यालयमा पढाउनुभयो । एसएलसी उत्तीर्ण गरेपछि अरुणलाई प्राविधिक क्षेत्रमा पढ्ने इच्छा जाग्यो । उहाँ तुलसीपुर–१२ मा रहेको मेट्रो कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्न भर्ना हुनुभयो । तीन वर्षको प्राविधिक कोर्स भए पनि कोभिड–१९ को महामारी र लकडाउनका कारण पढाइ पूरा गर्न चार–पाँच वर्ष लाग्यो ।

पढाइ पूरा गरेपछि अरुणलाई कलेजले छनौट गरेर केही समयका लागि फिल्डमा पठाएको थियो । फिल्ड सकिएपछि छोराले नाम निकालेर रसुवास्थित लाङटाङ खोला हाइड्रोपावरमा काम गर्न थालेको चिन्ता बहादुरले बताउनुभयो । छोराको दैनिकी कहिले पोखरा, कहिले सोलुखुम्बु त कहिले रसुवामा बसेर काम गर्नुपर्ने थियो । छोरा कमाउन थालेपछि घरको आर्थिक अवस्था केही सहज हुँदै गएको थियो । अरुणले आफूलाई आवश्यक पर्ने खर्च राखेर महिनामा ३० देखि ३५ हजार रुपैयाँसम्म घर पठाउने गरेको चिन्ताबहादुर बताउनुहुन्छ । त्यही पैसाले घरखर्च चलाउन र परिवारका आवश्यकता पूरा गर्न सहज भएको थियो ।

“छोरालाई पढाउन धेरै दुःख गरियो । अहिले छोरा कमाउने भएको थियो, घरखर्च चलाउन सजिलो हुँदै थियो,” उहाँ भन्नुहुन्छ । वर्षौँसम्म दुःख गरेर पढाएको छोराले आफ्नै खुट्टामा उभिन थालेपछि परिवारमा खुसी पलाएको थियो । अब छोराको विवाह गरिदिने र परिवारमा थप खुसी भित्र्याउने सपना पनि देख्न थालिएको थियो । अरुणले आफैँले मन पराएको केटीसँग विवाह गर्ने कुरा घरमा चलाएका थिए । युवती विदेशमा रहेकाले उनी फर्किएपछि केही वर्षभित्र विवाह गर्ने योजना बनेको थियो ।
तर, परिवारले देखेका ती सपना अहिले अधुरा छन् ।

भदौ १० गते रसुवामा बाढी आएको खबर पाएपछि चिन्ताबहादुरको परिवार आत्तियो । छोरालाई फोन गरियो, तर सम्पर्क हुन सकेन । परिवारका अनुसार, त्यसअघि छोरासँग कुराकानी भएको करिब १२ दिन भइसकेको थियो ।

“छोराले आठ–नौ गतेतिर तलब आउँछ, त्यसपछि घरखर्च चलाउन पैसा पठाइदिन्छु भनेको थियो । तर, १० गते बाढी आयो । त्यसपछि न छोरा सम्पर्कमा आयो, न उसले पठाउने भनेको पैसाबारे केही थाहा भयो,” चिन्ताबहादुरले भारी मनले भन्नुभयो ।

छोरा सम्पर्कविहीन भएपछि चिन्ताबहादुरले घरमा बस्न सक्नुभएन । भदौ ११ गते दुई छोरीसहित गाडी रिजर्भ गरेर उहाँ छोराको खोजीमा निस्कनुभयो । पहिले चितवन पुग्नुभयो । बाढी प्रभावित र उद्धार गरिएका व्यक्तिहरू राखिएका ठाउँमा खोज्नुभयो ।

सम्बन्धित निकायमा छोराको विवरण उपलब्ध गरायो तर, कतै भेटाएनौं उहाँले भन्नुभयो– “त्यसपछि काठमाडौं पुग्यो विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरूको अवस्था बुझ्यो े। छोराको फोटो देखाउँदै खोज्यो । अस्पतालमा रहेका अपरिचित अनुहारहरूबीच कतै आफ्नो छोरा भेटिन्छ कि भन्ने आशा बोकेर एक ठाउँबाट अर्को ठाउँ पुग्यो तर, खोजीको परिणाम हात लागेन ।”

काठमाडौंमा पनि छोरा नभेटिएपछि उहाँ नुवाकोटतिर लाग्नुभयो । त्यहाँ बाढीमा फसेका व्यक्तिहरूलाई हेलिकप्टरबाट उद्धार भइरहेको थियो । आकाशमा हेलिकप्टर देखिनेबित्तिकै चिन्ताबहादुरको मनमा आशा पलाउँथ्यो । “हेलिकप्टर आउँदा अब यसैमा छोरा पनि आउँछ कि भन्ने लाग्थ्यो । अब त छोरासंग भेट हुन्छ होला भन्ने आशा हुन्थ्यो । तर, उद्धार गरिएका मानिसहरूलाई हेर्दा पनि छोरा भेटिँदैनथ्यो । आशा पलाउँथ्यो, फेरि निराश हुनुपर्थ्यो,” उहाँ भन्नुहुन्छ ।

पाँच–छ दिनसम्म खोजी गर्दा पनि अरुणको कुनै खबर पाउनुभएन । बाढीले सडक क्षतिग्रस्त बनाएकाले रसुवास्थित कार्यस्थलसम्म पुग्नसमेत सम्भव भएन । त्यसपछि उहाँ घर फर्किनुभयो । तर, घर फर्किएर पनि छोराको खोजी रोकिएन । केही दिनपछि फेरि अस्पताल र होल्डिङ सेन्टरहरूमा पुग्नुभयो । भित्तामा टाँसिएका तस्बिरहरू हेर्नुभयो । कतै छोराको फोटो भेटिन्छ कि भनेर खोज्नुभयो । समय बित्दै गयो, तर छोराको कुनै अत्तोपत्तो लागेन ।

“छोरालाई खोज्न जाँदा ऋण लिएर गयौँ । गाडी भाडा, खानबस्नको खर्च सबै गर्दा करिब दुई लाख रुपैयाँ सकियो । अब त्यो ऋण कसरी तिर्ने? घरमा कमाउने छोरा नै सम्पर्कविहीन भएपछि झन् समस्या भएको छ ।”

छोराको खोजीमा निस्कँदा चिन्ताबहादुरले खर्चको हिसाब गर्नुभएन । छोरालाई भेट्न पाए अरू सबै कुरा सहज हुन्छ भन्ने लागेको थियो । गाडी रिजर्भ गर्नुपर्ने, खानेबस्ने खर्च जुटाउनुपर्ने र साथमा गएका व्यक्तिहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले ठूलो रकम खर्च भयो । उहाँका अनुसार, खोजीमा जाँदा करिब दुई लाख रुपैयाँ खर्च भइसकेको छ ।

“छोरालाई खोज्न जाँदा ऋण लिएर गयौँ । गाडीको खर्च, खानबस्नको खर्च सबै गर्दा करिब दुई लाख रुपैयाँ सकियो । अब त्यो ऋण कसरी तिर्ने? घरमा कमाउने छोरा नै सम्पर्कविहीन भएपछि झन् समस्या भएको छ,” उहाँले भन्नुभयो । चिन्ताबहादुरको परिवारको मुख्य आयस्रोत खेतीपाती हो । खेतबारीबाट उत्पादन हुने अन्नले वर्षभरि खान पुग्नसमेत मुस्किल पर्ने उहाँ बताउनुहुन्छ । खेतीपातीको काम सकेपछि उहाँ ज्याला मजदुरी गर्न जानुहुन्थ्यो । तर, छोरा सम्पर्कविहिन भएपछि उहाँको मन काममा लाग्न छाडेको छ । घरको काम र आर्थिक जिम्मेवारी उस्तै छन्, तर त्यसलाई सम्हाल्ने आत्मबल भने कमजोर भएको छ ।

“उमेरले पनि ५४ वर्ष भइसके । बुढेसकाल लाग्दै छ । छोराले परिवार सम्हाल्ला भन्ने आशा थियो । अहिले उसैको कुनै खबर छैन । खेतबारीमा काम गर्न पनि मन लाग्दैन । ज्याला मजदुरी गर्न जाँगर चल्दैन,” उहाँ भन्नुहुन्छ । अरुण सम्पर्कविहीन भएपछि चिन्ताबहादुरलाई छोराको खोजीको चिन्तासँगै घरमा रहेका छोरीहरूको भविष्यले पनि पिरोल्न थालेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण जेठी छोरीले एसएलसीपछि आफूले चाहेजति पढ्न नपाएको उहाँले बताउनुभयो । अहिले घरमा रहेका छोरीहरूको पढाइलाई निरन्तरता दिन पनि कठिन हुँदै गएको उहाँको भनाई छ । छोराले घरखर्चका लागि पैसा पठाउन थालेपछि परिवारलाई केही राहत मिलेको थियो। छोरीहरूको पढाइ, घरका अन्य आवश्यकतामा त्यसले सहयोग पुर्‍याएको थियो । तर, अहिले त्यो आर्थिक आधार पनि टुटेको छ उहाँले भन्नुभयो ।

“छोराले घरखर्च पठाउँथ्यो । घरमा खुसी थियो । अब तीनवटी छोरीलाई कसरी पढाउने, श्रीमती र बालबच्चालाई कसरी पाल्ने भन्ने चिन्ता छ । छोराको खोजी पनि गर्नुपरेको छ, ऋण पनि तिर्नुपरेको छ,” उहाँले भन्नुभयो । परिवारको अर्को ठूलो पीडा भनेको बुढेसकालको सहारा गुम्ने डर हो । छोराले कमाउन थालेपछि अब दुःखका दिन सकिँदै छन् भन्ने लागेको थियो । तर, बाढीपछि परिवारको भविष्य नै अनिश्चित बनेको छ ।

अरुणले तिहारमा घर आएर बहिनीहरूलाई टीका लगाइदिने कुरा गर्नुभएको थियो । परिवारले पनि त्यही दिनको प्रतीक्षा गरिरहेको थियो । अहिले तिहार नजिकिँदै गर्दा उहाँको सम्झनाले परिवारलाई झन् पिरोलिरहेको छ । गाउँघरमा चाडपर्वको तयारी भइरहँदा चिन्ताबहादुरको मनमा भने छोराको खोजी र भविष्यको चिन्ता मात्रै छ । “सबैको घरमा चाडपर्वको रमाइलो होला । हाम्रो घरमा भने अन्धकार छ,” उहाँ भन्नुहुन्छ ।

अरुण जीवितै फर्किएर आउलान् भन्ने आशा परिवारले अझै मारेको छैन । तर, हरेक दिनको प्रतीक्षा, खोजीमा लागेको ऋण, छोरीहरूको पढाइ र परिवारको भविष्यको चिन्ताले चिन्ताबहादुरलाई थकित बनाउँदै लगेको छ ।

यसैबीच, अरुणको प्राविधिक शिक्षामा तुलसीपुर उपमहानगरपालिका–१५ ले पनि सहयोग गरेको थियो । आर्थिक अवस्था कमजोर भएका, जेहेनदार तथा अध्ययनमा राम्रो प्रदर्शन गर्ने विद्यार्थी छनोट गरी मेट्रो कलेजमा अध्ययनका लागि सिफारिस गर्दै आएको वडाध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो । सोही क्रममा अरुण पनि छनोटमा पर्नुभएको थियो ।

वडाध्यक्ष चौधरीका अनुसार वडाले अरुणको प्राविधिक शिक्षाका लागि मेट्रो कलेजमा एक लाख रुपैयाँ शुल्क बुझाएको थियो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन वडाले विगतदेखि नै सहयोग गर्दै आएको उहाँको भनाइ छ । वडाको सहयोगमा प्राविधिक शिक्षा हासिल गरेका अरुण त्यसपछि रोजगारीमा प्रवेश गर्नुभएको थियो ।

रसुवा बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने विषयमा पनि स्थानीय तहले निर्णय गरेको वडाध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाले सम्पर्कविहीन व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

तर, वडाको आर्थिक कारोबारसम्बन्धी खाता सञ्चालनमा नरहेका कारण सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाउन समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । दशैंपछि वडाले सक्दो सहयोग गर्ने वडाध्यक्ष चौधरीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस