दाङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि सबैतिर बादलले ढाकेको छ भने कतैकतै पानी पनि परेको छ । आज र भोलि अलि धेरै वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागकी वरिष्ठ मौसमविद् एवम् प्रवक्ता विभूति पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार केही ठाउँमा मुसलधारे वर्षा तथा धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विज्ञप्ति निकालेर अबको तीन दिन हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
भारतमा कम्तीमा सात जनाको ज्यान जानुका साथै धानलगायतका बाली र बिजुलीका पोललगायतका संरचनामा ठूलो क्षति गरेको समुद्री आँधी नेपाल आइपुग्दा कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन् । तर प्रणाली कमजोर भए पनि केही ठाउँमा हावाहुरी र मुसलधारे वर्षा तथा माथिल्लो क्षेत्रमा व्यापक हिमपातको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
यो हप्ताको शुरूमै अर्नब चक्रवातले वर्षा गराउने पूर्वानुमान गरिएसँगै उच्च सतर्कता अपनाउन भनिएको थियो । भोलि शनिवार बेलुकादेखि यो प्रणाली बाहिरिने देखिएको मौसमविद्को भनाइ छ ।

























