दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । अमृत एकेडेमी दोघरेको खेल मैदानमा आयोजित प्रतियोगिताको नगर प्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खेलकुदले नागरिकलाई स्वस्थ, अनुशासित र सक्रिय बनाउनुका साथै स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले खेलकुद प्रतियोगिताले युवाहरूको प्रतिभा पहिचान र विकास गर्नसमेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथि नगर प्रवक्ता एवं वडा नम्बर १८ का अध्यक्ष माधव ओलीले खेलकुदले आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्नुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुरुषतर्फ फुटबल र भलिबल तथा महिलातर्फ विभिन्न पाँच विधामा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
पुरुष फुटबलतर्फ १० समूहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैयाँसहित मेडल र द्वितीय हुने समूहले नगद १० हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै, पुरुष भलिबलतर्फ ८ समूह सहभागी छन् । भलिबलमा प्रथम हुने समूहले नगद १२ हजार रुपैयाँसहित मेडल र द्वितीय हुने समूहले नगद ६ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन् ।
महिलातर्फ कुर्सी दौड, भलिबल, घैँटाफोर, कबड्डी र रस्साकस्सी प्रतियोगिता समावेश गरिएको छ । प्रतियोगिताको पहिलो दिन आज फुटबल, कबड्डी र कुर्सी दौडका खेलहरू सञ्चालन हुनेछन् ।
उद्घाटन कार्यक्रममा बेलझुण्डी खानेपानी संस्थाका सचिव मुक्तबहादुर वली (मुकेश), मावि कुटीचौरका प्रधानाध्यापक गोपाल खड्कालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नवजागरण माध्यमिक विद्यालय कुटीचौर र अमृत एकेडेमीका विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
वडा सदस्य रामबहादुर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव सुनिता थापाले गर्नुभएको थियो। उद्घाटन सत्रको अन्त्यमा वडा अध्यक्ष प्रेमनाथ योगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। खेलुकुद प्रतियोगिता आईतवारसम्म सञ्चालन हुनेछ ।


























