तुलसीपुर । तुलसीपुरमा युवा उद्यमशीलता अभियान अन्तर्गत नर्सरी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती परोपकार सङ्घ तुलसीपुरको आयोजनामा युवाहरूका लागि पाँच दिने तालिम वडा नम्बर ९ मा आज शुक्रबारदेखि सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्नु नै वास्तविक सफलता भएको बताउनुभयो । उहाँले उद्यमशीलता क्षेत्रमा तत्काल मुनाफा भन्दा धैर्यता र दीर्घकालीन सोच आवश्यक पर्ने उल्लेख गर्दै यसले जीवनयापनको आधार निर्माण गर्ने धारणा राख्नुभयो ।

उहाँले केही व्यक्तिहरूले निरन्तर तालिम मात्र लिने प्रवृत्ति बढ्दै गएको भन्दै यस्तो अवस्थाले राज्यको लगानी खेर जाने बताउनुभयो । साथै पालिकाले नगरवासीका लागि रुचि अनुसार विभिन्न तालिम सञ्चालनका लागि सूचना समेत प्रकाशन गरिसकेकाले आगामी समय सहभागीले इच्छाअनुसार तालिम लिन सकिने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले तुलसीपुरका युवाहरूलाई उद्यमी बनाउने उद्देश्यले वडाभित्र यस्तो कार्यक्रम सञ्चालन हुनु गर्वको विषय भएको बताउनुभयो ।
त्यसैगरी कार्यपालिका सदस्य तथा वडा नम्बर ९ का सदस्य बसन्ता केसी, न्यायिक समिति सदस्य तथा वडा नम्बर ५ का सदस्य लालमती भण्डारी लगायत वक्ताहरूले तालिमपछि व्यवसायिक रूपमा अघि बढ्न सहभागीलाई सुझाव दिनुभएको थियो।
पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिमपछि सहभागीहरूलाई व्यवसायिक रूपमा अघि बढाउने उद्देश्यले पाँच जनाको समूह निर्माण गरेर काम गर्न इच्छुक समूहलाई २५ हजार रुपैयाँ नगदसहित व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिने कार्यक्रमका व्यवस्थापक गणेश भण्डारीले जानकारी दिनुभयो ।
तालिममा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडा, गुरुजुर माध्यमिक विद्यालय र तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीसहित ३० जना युवाहरूको सहभागिता रहेको छ ।
नेपाल परोपकार सङ्घ तुलसीपुरका वरिष्ठ उपाध्यक्ष गोरखबहादुर वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेकोे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । कार्यक्रमको सहजीकरण कार्यक्रम व्यवस्थापक गणेश भण्डारीले गर्नुभएको थियो ।














