दाङ । जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढीरहेका बेला सल्यानका एक दम्पतीले आफ्ना नाबालक छोराको जन्मदिन भिन्न र परोपकारी ढंगले मनाउनुभएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५, रिम निवासी समाजसेवी युवा यज्ञ बहादुर बोहरा र श्रीजना बोहराले आफ्ना चार वर्षीय छोरा यजस बोहराको जन्मदिन तुलसीपुरस्थित मानव सेवा आश्रममा मनाउनुभएको हो ।

जन्मदिनको अवसरमा बोहरा परिवारले आश्रममा आश्रित ७४ जना आश्रित नागरिकहरूलाई दिउँसोको विशेष भोजन गराउनुभएको हो । स–साना बालबालिकादेखि वृद्धवृद्धासम्मले मिष्ठान्न भोजन ग्रहण गर्दै यजसलाई आशिर्वाद दिएका छन् ।
जन्मदिनमा तडकभडक र फजुल खर्च गर्नुभन्दा आश्रममा रहेका आमाबुवालाई एक छाक भोजन गराउन पाउँदा मनमा खुशी मिलेको यजसका बुवा यज्ञ बहादुर बोहराले बताउनुभयो । यजस आजको दिनमा तीन वर्ष पुरा भएर चार वर्षमा लागेको आमा श्रीजना बोहराले बताउनुभयो ।
मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बोहरा दम्पतीको यो कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हरेक नागरिकले आफ्नो उत्सवमा यसरी नै असहायहरूलाई सम्झने हो भने कोही पनि भोको रहनु नपर्ने बताउनुभयो ।














