२०८३ जेष्ठ २२ गते शुक्रवार

बाल अधिकार र नेतृत्व विकासमा जोड


दाङ, २२ जेठ । तुलसीपुर उपमहानगरपालिका–७ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । बालबालिकाको नेतृत्व विकास, सहभागिता तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्मृति भट्टराईको अध्यक्षतामा नौ सदस्यीय वडा स्तरीय ‘चेतनशील बाल सञ्जाल’ गठन गरिएको छ ।

जसको उपाध्यक्षमा आयुष खनाल, सचिवमा युना श्रेष्ठ, सहसचिवमा एन्जिला विक र कोषाध्यक्षमा पूजा वली चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा भावना नेपाली, रोजन रेग्मी, सामाग्री शाह र डिल्लीराज परियार रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली नगर कार्यपालिकाको कार्यालयमा सिफारिसका लागि पठाइएको वडा कार्यालयले जनाएको छ ।

सञ्जाल गठन कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जिसीले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका सक्रिय नागरिकसमेत भएकाले उनीहरूको क्षमता विकास, नेतृत्व निर्माण र निर्णय प्रक्रियामा सहभागितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले बाल सञ्जालले बाल अधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सञ्जाल बाल सन्जाल गठन कार्यक्रममा तुलसीपुर ७ भित्र रहेका सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरूले बालबालिकाका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक गतिविधि सञ्चालन गर्ने र बालमैत्री समाज निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस