जेठ महिनाको चर्को घामसँगै गाउँघरका डाँडापाखा, खोलानाला र चरन क्षेत्रमा यतिबेला फेरि गोठालोको रौनक देखिन थालेको छ । खेतबारी हरियाली बन्दै जाँदा गाईभैंसी, बाख्रा र भेडा चराउन जानेहरूको चहलपहलले ग्रामीण जीवनलाई फेरि पुराना सम्झनातर्फ फर्काइरहेको छ ।
पहिला गोठालो जाँदा युवा–युवतीहरूबीच माया–प्रेमका गफ चल्थे । कोही बाँसुरी बजाउँथे, कोही दोहोरी गाउँथे भने बुढाबाआमाहरू रमाइला कथा सुनाउँदै दिन कटाउँथे । लारीबेटी, चारीजस्ता खेल खेलेर दिनभरि रमाइलो गर्ने संस्कृतिले गाउँको बाल्यकाललाई अझ मिठासपूर्ण बनाएको तुलसीपुर–१४ करङ्गा निवासी रेखीराम बस्नेत बताउनुहुन्छ । ‘हाम्रो पालामा सानोमा गाई गोठालो जाँदा अत्यन्त रमाइलो हुने गर्थ्यो चारी खेल्थ्यौ लारीबेटी खेल्थ्यौ कपडी जस्ता खेलहरु खेल्ने गर्दथ्यौ तर आजभोलिका केटाकेटीहरु कोठाभित्रै मोबाइलमा व्यस्त रहन्छन् उनीहरु प्रकृतिसँग रम्न जानेकै छैनन् ।’ उहाँले भन्नुभयो ।
कहिलेकाहीँ बाख्राले अरूको बारीमा पसेर अन्नबाली खाइदिँदा गाली खाएका ती क्षण अझै सम्झनामा ताजा रहेको बस्नेत बताउनुहुन्छ । खोलामा साथीभाइसँग नुहाउन जाँदा कपडा लुकाइदिने, पानी छ्यापाछ्याप गरेर खेल्ने अनि एकअर्कालाई जिस्क्याउँदै बिताएका ती दिन अहिलेका पुस्ताले कमै अनुभव गर्न पाएका छन् ।
अहिले मोबाइल र सहरिया व्यस्तताले गाउँको पुरानो गोठालो संस्कृति हराउँदै गए पनि जेठ लागेसँगै ग्रामीण भेगमा फेरि पशुचौपाया चराउनेहरूको भीड देखिन थालेको छ । गाउँका डाँडापाखामा गुञ्जिने हाँसो, गीत र रमाइला सम्झनाले आज पनि पुरानो गाउँघरको जीवन्त तस्वीर झल्काइरहेको छ ।


















