दाङ। राप्ती आयुर्वेद चिकित्सालय दोघरे, दाङको आयोजनामा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग तथा ध्यान कार्यक्रम तुलसीपुरमा सुरू गरिएको छ । १९ नम्बर बाहिनी अड्डा तुलसीपुरमा कार्यरत नेपाली सेनालाई लक्षित गर्दै मंगलबारदेखि कार्यक्रम सञ्चालन गरिएको हो ।

आज कार्यक्रमको पहिलो सत्रमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा मानस रोग विशेषज्ञ डा. प्रशान्त बस्नेतले मानसिक समस्यालाई गुम्साएर राख्दा झन् जटिल बन्ने बताउनुभयो । उहाँले देखासिकी, सामाजिक दबाब तथा तनावका कारण मानसिक समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै परामर्श र उपचार आवश्यक रहेको बताउनुभयो ।

दोस्रो सत्रमा राप्ती आयुर्वेद चिकित्सालय दोघरेका कार्यालय प्रमुख डा. मदन कुमार बिसीले अस्वस्थ आहार, अव्यवस्थित जीवनशैली र निष्क्रिय बानीका कारण विभिन्न स्वास्थ्य समस्या बढिरहेको बताउनुभयो । उहाँले विलासी जीवनशैली, असन्तुलित खानपिन तथा शारीरिक रूपमा सक्रिय नहुँदा मानसिक र शारीरिक दुवै समस्या देखिने गरेको उल्लेख गर्नुभयो ।
स्वस्थ जीवनशैलीले सुख दिने र अस्वस्थ जीवनशैलीले दुःख निम्त्याउँने हुँदा स्वस्थ जीवनशैली यापन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका वाहिनीपति दिवसराज रेग्मी, सायक वाहिनीपति अनिल उपाध्याय, राप्ती आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार आचार्य, सूचना अधिकारी डा.कैलाश न्याैपाने,पत्रकार वसन्त पाैडेल तथा स्वास्थ्यकर्मीहरूकाे उपस्थिति रहेको थियो ।
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयाेजित दुई दिने योगा ध्यान कार्यक्रम बुधवारसम्म सञ्चालन हुनेछ ।















