दाङ । राप्ती आयुर्वेद चिकित्सालय दोघरे दाङको आयोजनामा सञ्चालित दुई दिने मानसिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी योग तथा ध्यान कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । १९ नम्बर बाहिनी अड्डा तुलसीपुरमा कार्यरत नेपाली सेनाका लागि आयोजित कार्यक्रम आज बुधबार समापन गरिएको हो ।

समापन कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालय दोघरेका कार्यालय प्रमुख डा.मदन कुमार बिसीले अस्वस्थ जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको बताउनुभयो । पहिले खान नपाएर समस्या देखिने गरे पनि अहिले खान नजानेर स्वास्थ्य समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उहाँले सन्तुलित भोजन नै स्वस्थ जीवनशैलीको प्रमुख आधार भएको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा मानसिक रोग विशेषज्ञ डा.प्रशान्त बस्नेत र उपप्राध्यापक तथा योग प्रशिक्षक डा.योगेश वैद्यले योग तथा ध्यान कक्षाको सहजीकरण गर्नुभएको थियो । उहाँहरूले जीवनमा तनाव परिवर्तनशील परिस्थितिमा स्वाभाविक रूपमा देखिने भएकाले त्यसको उचित व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका वाहिनीपति दिवसराज रेग्मी, सहायक वाहिनीपति अनिल उपाध्याय, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका आयुर्वेद विज्ञ विभाकर ठाकुर, राप्ती आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार आचार्य तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

दुई दिने योग–ध्यान कार्यक्रमको समापनका अवसरमा वाहिनीपति रेग्मीले मानसिक स्वास्थ्य आजको समयमा सबैभन्दा संवेदनशील विषय बनेको बताउँदै सैनिक जीवनमा अनुशासनसँगै मानसिक रूपमा पनि सुदृढ रहन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले योग, ध्यान र सकारात्मक जीवनशैलीले तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले सैनिकहरूलाई मानसिक रूपमा सन्तुलित र ऊर्जावान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनसम्बन्धी यस्ता कार्यक्रम समय–समयमा सञ्चालन गर्न आयोजक संस्थालाई सुझाव दिनुभयो ।















