दाङ । तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने अभियानलाई तीव्रता दिएको छ ।
अस्पतालले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको मावि भित्री सक्रामका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण धेरै बालबालिकाहरू आधारभूत शिक्षाबाट वञ्चित हुनुपर्ने वा बिचमै पढाइ छाड्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न अस्पतालले यो अभियान थालेको हो ।
अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार शुक्रबार विद्यालयका ३५ जना विपन्न तथा जेहेन्दार बालबालिकाहरूलाई कापी, कलम, झोला लगायतका आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको छ । अध्यक्ष रिजालले बालबालिकाको पठनपाठनमा सहजता ल्याउन र उनीहरूलाई शिक्षातर्फ प्रेरित गर्न अस्पताल सधैँ प्रतिबद्ध रहने विश्वास दिलाउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा घर्ती बुढामगरको अध्यक्षता तथा राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष प्रेमनाथ योगीको विशिष्ठ आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो ।
त्यस अवसरमा बोल्दै वडा अध्यक्ष योगीले अस्पतालको यस कार्यको प्रशंसा गर्नुभयो । उहाँले यस्ता सहयोगले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शिक्षामा निरन्तरता दिन ठुलो मद्दत पुग्ने बताउँदै अस्पतालको सामाजिक सेवा भावको सम्मान गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य राम बहादुर पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य बिनिता खड्का लगायतको सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक राघेस हरिजनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक रोशन श्रेष्ठले गर्नुभएको हो ।
स्वास्थ्य सेवा प्रवाहसँगै सामाजिक कार्यमा समेत सक्रिय राप्ती लाइफ केयर अस्पतालले आगामी दिनमा पनि लक्षित वर्गसम्म पुग्ने गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।















