दाङ । आगामी आर्थिक वर्षमा किसानमुखी कार्यक्रमलाई बढाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले किसानसंग सुझाव मागेको छ । उपमहानगरपालिकाको कृषि विकास शाखा र पशु सेवा शाखाले संयुक्तरुपमा व्यावसायिक किसानसंग सुझाव मागेका हुन् ।
तुलसीपुरमा बुधबार भएको कार्यक्रममा किसानले जग्गा भाडाको शुल्क निर्धारणदेखि कृषि एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने सुझाव राखेका छन् ।
किसान शसीराम बुढाथोकीले कृषि पेशा गर्ने संग पर्याप्त जमिन नहुँदा किसानले जग्गा भाडामा महंगो शुल्क बुझाउन परिरहेको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाले भाडाको जग्गाको शुल्क निर्धारण गरेमा किसानलाई सहजता हुने बताउनुभयो ।
यस्तै अर्का किसान नवराज रावतले कृषि उपजको सहज बजारीकरणका लागि उपमहानगरपालिका कृषि उत्पादन ढुवानी गर्ने गाडीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदान उत्पादनमा आधारित दिनुपर्ने समेत बताउनुभयो । किसानको सूचिकरण गर्नदेखि न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
तुलसीपुर–४ बनहरीका व्यावसायक बाख्रा पालक किसान मनोज चौधरीले बाँझो जमिनमा सहुलियत दरमा घाँसखेती गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
तुलसीपुर–३ का बिष्णु शर्माले दुधलाई लामो समयसम्म राख्नका लागि तुलसीपुर उपमहानगरपालिकाले चिस्यान केन्द्रको व्यवस्था गर्नुपर्ने बताउनुभयो । किसान टेक बहादुर खड्काले राज्यले दिने अनुदानको प्रतिफलको वास्तविक मूल्यांकन हुनुपर्ने बताउनुभयो ।
किसान कृष्णप्रसाद शर्माले नदिजन्य पदार्थको जथाभावि हुने उत्खनन्ले किसानको खेतबारीमा सिंचाईको समस्या बढ्न थालेको बताउनुभयो ।

नगरप्रमुख टिकाराम खड्काले किसानका सुझावलाई आगामी आर्थिक वर्ष २०८३/२०८४ बजेटमा अधिकतमरुपमा सम्बोधन गर्ने बताउनुभयो । उहाँले उपमहानगरपालिकाले आउने अनुदान र किसानले दिने सेवा न्यून रहेको बताउँदै केन्द्रले कृषिमा करिब १८ प्रतिशत लगानी गरेको बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुशीराम चौधरी, वडा नम्बर १ अध्यक्ष हुमकान्त सापकोटा, वडा नम्बर १३ का अध्यक्ष मोहन पौडेल, कृषि विकास शाखाका प्रमुख कुलराज चौधरी, पशु सेवा शाखाका प्रमुख डा. मनोज वली लगायतले किसानका अधिकतम समस्यालाई सम्बोधन गर्ने गरी नीति र योजना निर्माण गरिने बताउनुभयो । कृषि शाखा संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण कृषि शाखाका शकंर प्रसाद न्यौपानेले गर्नुभएको हो ।
















