२०८३ जेष्ठ २० गते बुधवार

सिकलसेल र थालेसिमिया पहिचानका लागि तुलसीपुर–१२ मा स्वास्थ्य शिविर


दाङ । थारू समुदायमा बढी देखिने सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको समयमै पहिचान, रोकथाम र उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१२ मा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय घोराहीको आयोजना तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको समन्वय तथा वडा नम्बर १२ र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा आज बुधबार वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१२ का वडा अध्यक्ष खुसीराम चौधरीले थारू समुदायमा वंशाणुगत रूपमा देखिने सिकलसेल र थालेसिमिया रोगको समयमै पहिचान गरी आवश्यक उपचार तथा सरकारी सेवा–सुविधासम्म पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका व्यक्तिहरूलाई सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा तथा सुविधाको प्रक्रियामा समावेश गर्न सहज हुने छ ।

शिविरमा चार सय जनाको रक्त नमुना सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि ४ सय ३९ जनाले परीक्षण गराएका छन् । हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहनकुमार शर्माका अनुसार परीक्षण गराउनेमध्ये २ सय ७६ जना महिला र १ सय ६३ जना पुरुष रहेका छन् ।

उहाँले शिविरमार्फत थारू समुदायमा सिकलसेल तथा थालेसिमियाबारे जनचेतना अभिवृद्धि हुनुका साथै रोगको प्रारम्भिक पहिचानमा सहयोग पग्ने बताउनुभयो । शिविरमा तुलसीपुर–१०, ११ र १२ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय थारू समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

शिविरमा जिल्ला स्वास्थ्य कार्यालय घोराहीका ल्याब टेक्निसियन उज्वलकुमार पौडेल, मलेरिया रोग फोकल पर्सन कमल चन्द, हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहनकुमार शर्मा, बेलटाकुरा स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर ओली, वडा नम्बर १२ का जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस