२०८३ जेष्ठ २१ गते बिहिवार

लुम्बिनी प्रदेशमा पाँच जना नयाँ मन्त्री नियुक्त


दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै मुख्यमन्त्री आचार्यले पुनर्गठित मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

नवगठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । जसअनुसार नेकपा (एमाले)बाट चार जना र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

एमालेतर्फ तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री बन्नुभएको छ भने रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालय जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो ।

प्रदेश सरकार स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारलाई थप प्रभावकारी र कार्यसम्पादनमुखी बनाउने उद्देश्य राखिएको छ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आगामी जेठ २५ गते सोमबारका लागि तय गरिएको छ । शपथपछि नयाँ मन्त्रीहरूले औपचारिक रूपमा आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस