दाङ । अध्ययन तथा विभिन्न प्रकारका बिदामा गएका ७ हजार ५९ जना निजामती कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख राज्यसँग नभएको पाइएको छ ।
निजामती किताबखानाका अनुसार तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा तथा बेतलबी बिदामा बसेका कर्मचारीहरूको अद्यावधिक विवरण उपलब्ध छैन । सबैभन्दा धेरै ४ हजार १३२ जना कर्मचारी तलबी अध्ययन बिदामा गएका छन्, तर उनीहरू सेवामा फर्किएको वा नफर्किएको कुनै अभिलेख छैन ।
त्यस्तै, बेतलबी अध्ययन बिदामा रहेका १ हजार ४४५ जना, असाधारण बिदामा रहेका १ हजार ४४९ जना, असाधारण तलबी बिदामा रहेका ७ जना र बेतलबी बिदामा रहेका १८ जना कर्मचारीको अवस्थाबारे पनि जानकारी नभएको निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले बताउनुभयो ।
अघिल्लो वर्षसम्म ९ हजार ६३४ जना कर्मचारीले आफ्नो विवरण अध्यावधिक नगरेकोमा किताबखानाले ताकेता गरेपछि यो संख्या घटेर ७ हजार ५९ मा झरेको छ ।
निजामती सेवा ऐन र नियमावलीअनुसार कर्मचारीले तीन महिनादेखि पाँच वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ । ऐनको दफा ४० ‘ग’ अनुसार अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि कर्मचारीले निश्चित अवधि अनिवार्य रूपमा सरकारी सेवामा काम गर्नुपर्छ ।
व्यवस्थाअनुसार तीन महिनासम्म अध्ययन बिदा लिनेले फर्किएपछि एक वर्ष सेवा गर्नुपर्छ भने तीन महिनादेखि ६ महिनासम्म बिदा लिनेले डेढ वर्ष सेवा गर्नुपर्ने हुन्छ । बिदाको अवधि बढ्दै जाँदा सेवा अवधि पनि बढ्ने व्यवस्था छ । पाँच वर्षसम्म अध्ययन बिदा लिने कर्मचारीले फर्किएपछि आठ वर्ष सेवा गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
तर हालसम्म ७ हजारभन्दा बढी कर्मचारी सेवामा फर्किएर काम गरे वा नगरे भन्ने यकिन विवरण सरकारी निकायसँग छैन । अध्ययन बिदामा गएर नफर्किएका धेरै कर्मचारी विदेशमै बस्ने गरेको पाइएको छ । कानुनअनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किने कर्मचारीबाट बिदाको अवधिमा प्राप्त सेवा–सुविधा असुलउपर गर्न सकिने व्यवस्था रहेको छ ।


















