२०८३ जेष्ठ २७ गते बुधवार

विद्यार्थीको सारथी बन्दै राप्ती लाईफ केयर,स्वास्थ्य सेवामा पनि छुट सम्झौता

दाङ । समाजसेवाको भावनालाई आत्मसात गर्दै आएको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरले शैक्षिक क्षेत्रमा समेत सहयोगलाई निरन्तरता दिएको छ ।

तुलसीपुर–७, मोतिपुरमा रहेको अस्पतालले फेरि वडा नम्बर २ मा रहेको माध्यमिक विद्यालय बालापुरमा अध्ययनरत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

अस्पतालले विद्यार्थीहरूलाई झोला, कापी, कलम, ब्रस तथा मञ्जन लगायतका सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर केसीको अध्यक्षता तथा राप्ती लाईफ केयर हस्पिटल प्रा.लि का अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रिजालले अस्पतालले बिरामीको उपचार मात्र नभई समाजप्रति आफ्नो दायित्वसमेत निर्वाह गर्दै आएको बताउनुभयो । रिजालले अस्पतालमा प्रत्येक वर्ष गरिब तथा असहाय बिरामीहरूलाई छुट सुविधामार्फत करिब ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा ईट्टा थपेको बताउनुभयो । यसैविच राप्ती लाईफ केयर हस्पिटल र मावि बालापुरबीच स्वास्थ्य सेवामा विशेष छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार विद्यालयका विद्यार्थीहरूले अस्पतालमा ओपिडी तथा इमरजेन्सी टिकट निःशुल्क रुपमा प्राप्त गर्नेछन् भने विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलार्ई विभिन्न स्वास्थ्य सेवामा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर केसीले विद्यार्थीहरूको बौद्धिक विकासमा टेवा पुग्ने उद्देश्यले गरिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै शैक्षिक सामग्री उपलब्ध गराएकोमा अस्पतालप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजसेवी अजित पोख्रेल, अस्पतालका लेखापाल माधव केसी, कर्मचारी विष्णु गोराथोकी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


विद्यालयका सहायक प्रधानाध्यपक विश्वक कुमार गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक निर्मला डाँगीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस