२०८३ जेष्ठ २७ गते बुधवार

दंगीशरण दाङकै पहिलो पूर्णखोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा


दाङ । दंगीशरण गाउँपालिकालाई दाङ जिल्लाकै पहिलो पूर्णखोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिकाका रूपमा घोषणा गरिएको छ ।

दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज बुधबार एक कार्यक्रमको आयोजान गरी पालिकालाई पूर्णखोप तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्टा आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साथै, स्वस्थ शिशु प्रतिस्पर्धामा सहभागी २८ जना शिशुमध्ये उत्कृष्ट स्वास्थ्य अवस्था भएका चार जना शिशुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीका अनुसार प्रतिस्पर्धामा सहभागी शिशुहरूको मूल्याङ्कन विभिन्न स्वास्थ्य सूचकका आधारमा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको संयोजकत्वमा गठित समिति अन्तर्गत जनस्वास्थ्य अधिकृत स्वीकृति देवकोटा संयोजक रहेको मूल्याङ्कन समितिले उत्कृष्ट शिशु छनोट गरेको हो ।

सोही अवसरमा गाउँपालिकाका सातवटै वडालाई सम्मान गर्नुका साथै लामो समयसम्म महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा पुर्‍याई अवकाश प्राप्त स्वयंसेविकाहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख टी.बी. गुरुङले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, खोप अभियानको महत्व तथा संस्थागत प्रसूति सेवाको आवश्यकताबारे धारणा व्यक्त गर्नुभएको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र रामपुरका प्रमुख दामोदर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस