दाङ, ३१ जेठ । सल्यानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–७ का ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको प्रहरीले जनाएको छ । शारदा नगरपालिका–१ श्रीनगरस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट आइतबार दिउँसो करिब १२ बजेतिर दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले पैदलयात्री रेउलेलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी रेउलेको टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भएपनि चिकित्सकले दिउँसो १२ः३० बजे मृत घोषणा गरेका हुन् ।
बस चालक कुमाख गाउँपालिका–३ का करिब ३० वर्षीय डिल्ली बुढालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।



















