दाङ, १ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिँदा आधा काम भएको छ । तीन वर्षमा पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तीन वर्षमा मुस्किलले ५५ प्रतिशत मात्र काम भएको हो ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको पुल निर्माणका लागि २०८० जेठ ३० गते एमएस रायमाझी कन्स्ट्रक्सन जेभी काठमाडौँसँग २३ करोड २२ लाख ४३ हजार तीन सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीले सम्झौता अनुसार २०८३ जेठ २८ गतेभित्र पुल निर्माणको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब ५५ प्रतिशत काम भएको जानकारी दिनुभयो ।
समयमै काम सम्पन्न गर्न पटक पटक ठेकेदारलाई ताकिता गरिएको भए पनि काममा ढिलाइ गर्दा समयमा पुल निर्माण हुन नसकेको इन्जिनियर चौधरीको भनाइ छ । इन्जिनियर चौधरीले निर्माण व्यवसायीको ढिलाइसँगै बजेट अभावका कारण काममा ढिलाइ भएको बताउनुभयो ।
उहाँका अनुसार सम्झौता समयमा निर्माण कम्पनीले पुल निर्माणको काम गर्न नसकेपछि चैत मसान्तसम्म म्याद थपका लागि फाइल तयार गरेर पुल विभागमा पठाइएको छ । ठेकेदारले हालसम्म पुल निर्माणका लागि १० करोड ९३ लाख रुपियाँ भुक्तानी लिइसकेको छ ।
सेवारखोलामा पुल निर्माण नहुँदा बर्सातको समयमा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकखण्डमा सवारीसाधन सञ्चालनसँगै स्थानीयलाई हिँडडुल गर्न सहज हुने छ ।



















