२०८३ असार १ गते सोमवार

राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा


दाङ, १ असार । राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । संस्थागत प्रसूतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरु पूरा गरेपछि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो ।

निर्धारित प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने दर ९९ दशमलव ६ प्रतिशत, तीन पटक उत्तरप्रसूति जाँच गराउने दर ९९ दशमलव ३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसूति शून्य रहेको पाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका सबै ५ सय ७७ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै प्रसूति सेवा लिएका थिए । तीमध्ये जटिल अवस्था भएका ४८ जनालाई थप उपचारका लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा रिफर गरिएको थियो ।

राप्ती गाउँपालिकाले विगत केही वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो । गाउँपालिकाअन्तर्गत लालमटिया स्वास्थ्य चौकी, भालुबाङ र राप्ती आधारभूत अस्पताल कालापानीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । भालुबाङमा प्रादेशिक अस्पताल स्थापना भएपछि त्यहाँबाट समेत प्रसूति सेवा उपलब्ध हुँदै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस