२०८३ असार १० गते बुधवार

तुलसीपुर कारागारमा कैदीबन्दीलाई योग तथा मानसिक स्वास्थ्य प्रशिक्षण

तुलसीपुर । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राप्ती आयुर्वेद चिकित्सालय दोघरेको आयोजनामा तुलसीपुर कारागारका कैदीबन्दीहरूलाई लक्षित गरी योग, ध्यान तथा मानसिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।

“योगबाट मानसिक स्वास्थ्य प्रवद्र्धन“ भन्ने उद्देश्यसहित आयोजित कार्यक्रममा कारागारभित्र विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका कैदीबन्दीहरूलाई योगाभ्यास, ध्यान, सकारात्मक सोच तथा व्यवहार परिवर्तनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा योग र ध्यानले मानसिक तनाव न्यूनीकरण, आत्मअनुशासन विकास, सकारात्मक सोच अभिवृद्धि तथा स्वस्थ जीवनशैली निर्माणमा पुर्‍याउने योगदानबारे जानकारी गराइएको थियो ।

राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा. मदनकुमार बिसीले कारागारभित्र रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्य सुधार तथा आत्मबल अभिवृद्धिका लागि योग प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले योग केवल शारीरिक व्यायाम नभई शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्ने जीवन पद्धति भएको उल्लेख गर्दै नियमित अभ्यासले तनाव, चिन्ता र निराशा कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा करिब ४ सयभन्दा बढी कैदीबन्दीहरूलाई तीन चरणमा विभाजन गरी योगाभ्यास कक्षा सञ्चालन गरिएको थियो। योग प्रशिक्षक खिमानन्द रिजाल र अञ्जु रेग्मी न्यौपानेले विभिन्न योगासन, प्राणायाम तथा ध्यानका विधिहरू सिकाउनुभएको थियो। प्रशिक्षकहरूले नियमित योग अभ्यासले मानसिक एकाग्रता बढाउने, क्रोध नियन्त्रण गर्न सहयोग गर्ने तथा सकारात्मक ऊर्जा वृद्धि गर्ने बताएका थिए ।

त्यसैगरी कार्यक्रममा कैदीबन्दीहरूलाई जीवनशैली र सकारात्मक चिन्तन सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो। स्वस्थ आहार, नियमित दिनचर्या, अनुशासित जीवनशैली तथा सकारात्मक सोचमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउन सकिने विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमका सहभागी कैदीबन्दीहरूले योग तथा ध्यान अभ्यासबाट आफूहरूलाई मानसिक रूपमा शान्ति महसुस भएको प्रतिक्रिया दिएका थिए। यस्ता कार्यक्रमले कारागार जीवनलाई सकारात्मक बनाउने तथा आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।

यस्तै चिकित्सालयले कारागारका प्रत्येक ब्लकमा योगसम्बन्धी पुस्तक हस्तान्तरण गरेको छ। पुस्तकमार्फत कैदीबन्दीहरूले नियमित रूपमा योगका सिद्धान्त, अभ्यास तथा स्वास्थ्य लाभबारे अध्ययन गर्न सक्ने छन् ।

कार्यक्रममा कारागार प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियोचिकित्सालाई व्यवस्थापन समितिका अध्यक्ष नारायणकुमार आचार्य,सदस्य पिपला कुमारी खत्री,लुम्बिनी प्रदेश खेलकुद समितिका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने,सूचना अधिकारी डाक्टर कैलाश न्यौपाने,कार्यक्रम संयोजक विष्णु पन्थी,कारागार प्रसाशन लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा कारागारका जनस्वास्थ्य निरीक्षक दोर्णबहादुर ओलीले कैदीबन्दीहरूको मानसिक स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस