दाङ, १० असार । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आगामी साउन महिनादेखि विद्युत महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशनअनुसार अब विद्युत महसुल अनलाइन माध्यमबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गर्न लागिएको हो ।
यसअघि चारवटा काउन्टरबाट सेवा प्रवाह गर्दै आएको कार्यालयले अहिले दुईवटा काउन्टरबाट मात्रै सेवा दिइरहेको छ । अब साउन १ गतेदेखि काउन्टर सेवालाई पुर्ण रूपमा बन्द गर्ने र अनलाइन सेवाबाट भुक्तानी गर्ने तयारी छ ।
वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले सेवाग्राहीलाई समयमै अनलाइन भुक्तानी प्रणालीमा अभ्यस्त हुन आग्रह गर्नुभएको छ । डिजिटल प्रविधिको प्रयोग बढाउने र सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको हो ।
प्रमुख महतोका अनुसार साउन १ गतेदेखि कार्यालयमा पुगेर महसुल बुझाउने व्यवस्था नरहेको बताउनुभयो । काउन्टर सेवा बन्द भएपछि ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ लगायतका माध्यमबाट विद्युत महसुल भुक्तानी गर्न सकिनेछ ।
अनलाइन भुक्तानीका क्रममा कुनै समस्या आए ९८५७८२७९५० मा सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनुभयो । प्राधिकरणले नयाँ व्यवस्थाबारे जानकारी दिँदै सबै सेवाग्राहीलाई अनलाइन माध्यमबाटै विद्युत बिल भुक्तानी गर्न अनुरोध गरेको छ ।

















