दाङ, १० असार । रोल्पामा बेवारिसे अवस्थामा लुकाई–छिपाई राखिएका दुई वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार ४ बजे सुनिलस्मृति गाउँपालिका–६ गरगरेस्थित सल्लेरी पाखा सामुदायिक वनमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको हो ।
वनभित्र चिलाउनेको रुखको जरामा काठ र फलामबाट बनेका सिलिङ जोडिएका एक–एक नाल भएका दुई वटा भरुवा बन्दुक बेवारिसे अवस्थामा लुकाई राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
फेला परेका बन्दुकहरू कानुनी प्रक्रिया पूरा गरी बरामद मुचुल्का तयार गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको प्रहरीले जनाएको छ ।

















