२०८३ भाद्र २९ गते सोमवार

तुलसीपुरका ५४ प्रतिशतभन्दा किशोरीमा रक्तअल्पता


दाङ । तुलसीपुर उपमहानगरपालिकाभित्रका विद्यालय जाने ५४ दशमलव ४५ प्रतिशत किशोरीहरूमा रक्तअल्पता भएको देखिएको छ । स्वास्थ्य कार्यालय दाङको आयोजना, तुलसीपुर उपमहानगरपालिकाको समन्वय र सम्बन्धित विद्यालयहरूको व्यवस्थापनमा गरिएको एक परीक्षणका क्रममा यस्तो भयावह तथ्य बाहिर आएको हो ।

उपमहानगरपालिकाभित्रका २ वटा सरकारी र २ वटा निजी विद्यालयका १० वर्षदेखि १९ वर्षमुनिका १ हजार ९७४ जना किशोरीहरूमा गरिएको परीक्षणमा झन्डै आधाभन्दा बढीमा रक्तअल्पता देखिएको हो ।

किशोरीहरूमा सामान्य रक्तअल्पता ५२ प्रतिशत, मध्यम रक्तअल्पता ४७ प्रतिशत र ०.४६ प्रतिशतमा कडा रक्तअल्पता देखिएको छ ।

गुरु जुजुर नमुना मावि रक्षाचौरमा ७५० जना किशोरीमध्ये ४८१ जनामा, गोरखा बोर्डिङ स्कुलका ९२२ जनामध्ये ४५७ जनामा, कालाखोला माविमा २५८ जनामध्ये १०१ जनामा, शारदा सिस्ने बोर्डिङमा ४४ जनामध्ये ३६ जनामा रक्तअल्पता देखिएको तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो ।

किशोरीहरूमा रक्तअल्पता समस्या देखिनुमा पोषिलो खानाको पर्याप्त अभाव हुनु, हरियो सागपात कम खानु, जंक फुडको अत्यधिक प्रयोग बढ्नु, शरीरमा आइरन र फोलिक एसिडको कमी हुनु लगायतका कारण रहेका छन् ।

किशोरीहरूको स्वास्थ्यमा देखिएको यो गम्भीर समस्यालाई न्यूनीकरण गर्न विद्यार्थी स्वयम्, अभिभावक, विद्यालय र सरोकारवाला निकायहरू सबै बेलैमा सचेत भई खानपान र स्वास्थ्य सचेतनामा जोड दिनुपर्ने जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस