दाङ। राप्ती गाउँपालिकामा अध्ययनरत जेहेन्दार तथा विपन्न ६० जना विद्यार्थीलाई छात्रवृत्तिसहित साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ । क्रियटिङ पोसिविलिटिज नेपालले विद्यालय छाड्ने दर घटाउने, छात्राको नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले तीन विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
तीमध्ये २५ जना किशोरीलाई विद्यालय आउन–जान सहज होस् भन्ने उद्देश्यले साइकल प्रदान गरिएको छ । साथै झोला, कापी, कलम र क्यालकुलेटरलगायतका शैक्षिक सामग्री पनि वितरण गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले छात्रवृत्ति तथा शैक्षिक सहयोगले विद्यार्थीको पढाइप्रतिको आकर्षण बढ्नुका साथै विद्यालय छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा राप्ती गाउँपालिकाअन्तर्गतका दुर्गा भवानी आधारभूत विद्यालय, बीपी आधारभूत विद्यालय र सर्वोदय माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।



















