दाङ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तवले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा मात्रै १ लाख ६२ हजार ५४२ जना बिरामीले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो ।
पछिल्लो समय चिकित्सालयमा उपलब्ध पञ्चकर्म र बालबालिकाका लागि दिइने स्वर्णप्रासन सेवा सर्वसाधारणका माझ निकै लोकप्रिय बन्दै गएको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काले बिजौरीस्थित यस चिकित्सालयलाई आयुर्वेद शिक्षण अस्पतालको रूपमा विकास गर्ने कार्य स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आफ्नै फार्मेसी सेवा सुरुवात गर्ने तयारी भइरहेको र यसका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको उहाँको भनाइ छ ।
सार्वजनिक सुनुवाइमा सेवाग्राहीको सन्तुष्टि र सुझावका लागि गरिएको मत सर्वेक्षणको नतिजा समेत सार्वजनिक गरिएको छ । साक्षी खबर साप्ताहिकका सम्पादक राकेश बस्नेतले प्रस्तुत गर्नुभएको सर्वेक्षण प्रतिवेदन अनुसार चिकित्सालयको सेवा प्रवाह सुधारोन्मुख रहेपनि सेवाग्राहीले पर्याप्त औषधिको व्यवस्था हुनुपर्ने, चौबिसै घण्टा आपतकालीन (इमर्जेन्सी) सेवा सञ्चालन गरिनुपर्ने र अस्पताल परिसरमा बिरामी प्रतिक्षालयको व्यवस्था हुनुपर्ने जस्ता महत्वपूर्ण सुझाव दिएका छन् ।
नागरिक र सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा उठाइएका सुझावहरूलाई समेट्दै आगामी दिनमा अस्पतालको सेवालाई अझै गुणस्तरीय र प्रविधिमैत्री बनाउने प्रतिबद्धता अस्पताल प्रशासनले जनाएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ अध्यक्ष शिवानन्द डीसी, तुलसीपुर–१९ का अध्यक्ष प्रेमनाथ योगी, नेपाली कांग्रेस तुलसीपुर–१८ का सचिव बिदुर गौतम, नेकपा एमाले तुलसीपुर–१८ का अध्यक्ष कमानसिं खड्का, सूचनापत्र साप्ताहिकका सम्पादक बंशीकुमार शर्मा, व्यवसायी मुकेश वली, स्थानीय शुसिला पौडेल लगायतले मन्तव्य राख्नुभएको हो ।
अस्पतालका डा. अर्जुन शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बसन्त केसीले गर्नुभएको हो ।



















