दाङ । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका– २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।
राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन् । प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्याक्टरसँगै माटो लिन गएका थिए । सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएकोे छ ।






















